काठमाडौं । अष्ट्रेलिया बिरुद्धको चौथो एक दिवसिय क्रिकेटमा शानदार जित निकाल्दै इङ्गल्याण्डले ५ खेलको एक दिवसिय श्रृङ्खलामा २–२ को बराबरी गरेको छ ।

लिड्समा शुक्रबार राती सम्पन्न खेलमा ३ सय रनको बिजयी लक्ष्य पछ्याएको घरेलु टोली इंगल्याण्डले ७ विकेट गुमाउदै ४८ दशमलब २ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

इङ्गल्याण्डलाई बिजयी गराउन कप्तान इयान मोर्गनले सार्बाधिक ९२ रनको योगदान गरे । खेलमा यस अघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले जर्ज बेली र ग्लेन म्याक्सवेलको अर्धसतकीय योगदानको मद्धतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ९९ रनको योगफल खडा गरेको थियो ।

पाहुना टोलीका लागी म्याक्सवेलले ६४ बलमा ८५ तथा बेलीले ७५ रन जोडे । श्रृङ्खलामा लगातार दुई खेल गुमाएको इंङ्गल्याण्डले त्यस पछिका दुइ खेलहरुमा उत्कृष्ट पुनरागमन गर्दै श्रृङ्खला बराबरी गरेको हो ।

अब म्यान्चेष्टरमा आइतबार हुने पाँचौ तथा अन्तिम एक दिवसिय खेलले श्रृङ्खला बिजेताको टुङ्गो लगाउने छ ।