२५ भदौ, काठमाडौं ।  सरकार र ब्यबसायीबीच भएको सहमति अनुसार आजबाट नयाँ भाडादर लागु गर्न लागिएको हो । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक सवारीसाधनको भाडादर २.२ प्रतिशत घटेको छ भने तराईका मालबाहक ट्रकको भाडादर ३.२४ प्रतिशत घटेको छ ।

त्यस्तै, काठमाडौं, नारायणघाट र पोखरा क्षेत्रका मालबाहक ट्रकमा ३.१ प्रतिशत र मिटरजडित ट्याक्सी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चल्ने सवारीसाधनको भाडादरमा १.६३५ प्रतिशत घटाउने निर्णय भएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागको भाडादर निर्धारण समितिका संयोजक शरद अधिकारीले काठमाडौं उपत्यकामा न्यूनतम भाडादर १३ रुपैयाँ कायम गर्ने निर्णय भएको जानकारी दिए ।आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सार्वजनिक सवारीसाधनको भाडादर घटेको हो ।