काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन २ साताभित्र रोजागार आवेदन खुला गर्ने तयारी गरेको छ । दुवै देशको सरकारमार्फत (जिटुजी) माध्यमबाट नेपाली कामदार पठाउने व्यवस्थाअनुरुप प्रारम्भिक रोस्टरका लागि आवेदन खुला गर्न लागिएको हो ।

विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जिटुजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्टअनुरुप प्रारम्भिक रोस्टरको आवेदन खुला गर्न लागिएको बताए । ‘विगतमा स्वीकृतप्राप्त तालिमप्रदायक संस्थाहरुबाट ३ महिना घरेलु कामसम्बन्धी तालिम लिइसकेका व्यक्तिले आवेदन दिन सक्नेछन्,’ उनले भने,‘ती कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिनेछ ।’

घरेलु कामदारमा जाने काममा दक्षताका साथै उमेरमा पनि परिपक्व हुनुपर्नेछ । आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए ।

इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १.४ मिटर हुनुपर्नेछ ।