२५ भदौ, काठमाडौं । भदौभित्र नयाँ संविधान जारी गर्ने उद्देश्यसहित संविधानसभामा शुक्रबारदेखि संविधानको विधेयकमाथि मतदान हुने भएको छ।
संविधानसभामा पेस भएको संशोधन विधेयकमाथिको दफावार छलफल शुक्रबार सकिँदै छ । संशोधनका लागि परेका ५४ संशोधन प्रस्ताव र विधेयकमाथिको दफावार छलफल सकिएपछि संविधानसभामा मतदान सुरु हुनेछ ।
बिहीबार सबै संशोधनका प्रस्तावक र ८४ सभासद्ले दफावार छलफलमा भाग लिए । छलफलका लागि नाम टिपाएका ६ सभासद् र शीर्ष चार नेताले शुक्रबार बोलेपछि विधेयकलाई निर्णयार्थ पेस गरिने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘शुक्रबार दिउँसो २ बजेबाट संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्ने लक्ष्य छ,’ नेम्वाङले सञ्चारकर्मीसँग भने, ‘गृहकार्य टुंगिएपछि संविधान जारी गर्ने मिति आइतबार सार्वजनिक गर्नेछु, त्यो मिति भदौ मसान्तभित्रै हुनेछ ।’
संशोधन प्रस्ताव दर्ता भएको क्रमअनुसार मतदानको प्रक्रिया सुरु हुनेछ । प्रस्तावकर्तालाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिने र फिर्ता नलिए प्रस्तावको पक्ष र विपक्षमा को–को हुनुहुन्छ भनेर सभामुखले सोध्नेछन् । सभासद्हरूको ध्वनिमतका आधारमा सभामुखले निर्णय सुनाउनेछन् ।
तीन प्रमुख दलले ल्याएको संशोधन प्रस्ताव र विधेयकप्रति विमति राख्ने सभासद्को संख्या १० प्रतिशन नभएकाले सबै संशोधन प्रस्ताव ध्वनिमतकै आधारमा टुंगिने सम्भावना रहेको संविधानसभा सचिवालय स्रोतले बतायो । त्यसो गर्दा ५४ प्रस्तावमाथि निर्णय गर्न बढीमा ६ देखि आठ घन्टा लाग्नेछ ।
शुक्रबार संशोधनमाथिको मतदान नसकिए शनिबार बिहानैबाट सुरु गर्ने सचिवालयको तयारी छ । संशोधन प्रस्तावपछि संविधान विधेयकको धारालाई पालैपालो निर्णयार्थ पेस गरिनेछ । त्यसरी पेस भएका धाराहरू पारित गर्न संविधानसभाको कुल संख्याको दुईतिहाइ सभासद् अनिवार्य उपस्थित भएको हुनुपर्नेछ । उपस्थित सभासद् संख्याको दुईतिहाइ मतले धाराहरू पारित हुने संवैधानिक व्यवस्था छ ।
विधेयकका धाराहरू पारित भएपछि त्यो संविधानको अंग बन्नेछ । त्यसपछि समग्र संविधानलाई निर्णयार्थ पेस गरी दुईतिहाइ मतले पारित गर्नुपर्ने व्यवस्था छ । संविधानका धाराहरूलाई एकमुष्ट निर्णयार्थ प्रस्तुत गरी छोटो बाटो अपनाए बढीमा दुई दिनभित्र संविधानसभाबाट संविधान पारित हुनेछ ।
पारित भएको संविधानलाई अन्तिम रूप दिन सचिवालयले थप एक दिन लगाउनेछ । त्यसपछि पारित संविधानमा सभासद्हरूले हस्ताक्षर गर्नेछन् ।
सभामुखले प्रमाणीकरण गरेपछिसंविधानसभाको अन्तिम बैठकपछि हुने विशेष समारोहबीच राष्ट्रपति डा। रामवरण यादवले संविधानसभा भवनबाटै नयाँ संविधान जारी गर्नेछन् ।