भैरहवा । बहुप्रचारित भैरहवाको विरोधसभाको तयारीको लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विगत ४ दिनदेखि भैरहवा र तौलिहवा क्षेत्रमा डेरा जमाएर बस्नुभएको थियो ।

महन्त ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय यादव र हृदेश त्रिपाठी केही दिनदेखि यतै थिए । मोर्चाका जिल्ला तथा केन्द्रीयस्तरका नेताहरुले दिनदिनै गाउँगाउँमा विरोध र्‍याली र सभा गर्दै २३ गते भैरहवा जान आह्वान गरिरहेका थिए ।

मोर्चाकै केन्द्रीय नेताहरु आएर ठूलो दलबलका साथ गाउँगाउँबाट लाखौं मानिसहरु उतार्ने तयारी गरिरहेता पनि उनीहरुको त्यो योजना भने कमजोर देखिएको छ ।

मोर्चाले कम्तिमा २५ हजार बढीमा एक लाख मानिस उतार्ने भनेर गाउँगाउँमा माईकिंग गरेर अनिवार्य उपस्थितिको लागि आहावन गरेको थियो ।

तर बुधबारको सभामा मुश्किलले तीन हजार मानिस देखिए । गत भदौं ३ गते भैरहवामा मोर्चाको आयोजनामा भएको विरोध र्‍यालीमा करिब २५ हजार मानिसहरुको उपस्थिीति रहेको थियो ।

छोटो समयमा गरिएको त्यो र्‍यालीमा त्यतिका धेरै मानिसहरु उपस्थित भएकोले केन्द्रीय तहका मधेस आन्दोलनका सबै कमाण्डर उपस्थित हुने सभामा लाखौं मानिस जुट्ने अड्कलबाजी गरिएको थियो ।

शंकाआशंका र त्रासकाकारण स्थानीय प्रशासनले चौतर्फी सुरक्षा योजन लागू गरेको थियो । आमसभा शुरु हुनुभन्दा केही समय अगाडिदेखि भैरहवाको आकाशमा सेनाको हवाई गस्ती समेत भएको थियो ।

सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको थियो । जसका कारण मान्छेहरु डराएर सभामा उपस्थित नभएको देखिएको थियो ।

अर्कोतिर ठाउँठाउँमा गोली चलेको हुनाले यहाँपनि गोली चल्न सक्ने सम्भावनाको कारण मान्छेहरु नआएको हुन सक्ने विश्लेषक बताउँछन् भने मधेसी मोर्चाबीचको फुट पनि अर्को कारण भएको देखिन्छ ।

बडो इमान्दारीपूर्वक लागेका कार्यकर्ताहरुको पछाडि स्थानीय मोर्चाका नेताहरुले ठूलो रकम सहयोग स्वरुप उठाएर स्थानीय उद्योग धन्दा चलाउन दिएको आरोप लगाएका छन् ।

दैनिक रुपमा ज्याला मजदुरी गर्नेहरु २७ दिनदेखि भैरहवा क्षेत्र आक्रान्त हुँदा काम गर्न नपाई रोजीरोटी समेत गुमेको हुँदा आन्दोलरत पक्षप्रति आक्रोसित हुँदै गएका छन् । यस्ता विविध कारणले जनसहभागिता कम भएको आंकलन गरिएको छ ।