भैरहवा। संघीय राज्यको सिमाङ्कनको विषयमा असहमति राख्दै झण्डै एक महिनादेखि बन्द, हड्ताल र आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज भैरहवामा शक्ति प्रर्दशन गर्दैछन् ।
सरकार र कांग्रेस, एमाले र एमाओवादीलाई दबाब दिने उद्धेश्यले आज भैरहवामा मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो ।
कार्यक्रमको बारेमा जानकारी दिँदै संयोजक यादवले भन्नुभयो, ‘आजको विरोधसभामा एक लाख मानिसहरू उपस्थित हुनेछन् ।जसकोलागि जिल्लाको पूर्व, दक्षिण र उत्तर पश्चिमतर्फबाट आउने लाखौंको र्यालीलाई कमान्डिग गर्न केन्द्रीय नेताहरू नै खटिनेछन् ।
जुलुसलाई शान्तिपूर्ण बनाउन हजारौं स्वयंसेवक दस्ता पनि निर्माण गरिएकोछ । र्याली भैरहवाको मायादेवी चौंकमा गएर आमसभामा परिणत हुनेछ ।’
संयोजक यादवले आमसभालाई तमलोपा अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।