काठमाडौं, भदौ २२ । संविधानसभाको आज बस्ने बैठकमा संविधानको परिमार्जित विधेयकमाथि मंगलबारदेखि दफावर छलफल हुने भएको छ ।
संविधानको परिमार्जित विधेयकमा दर्ता भएको संशोधन प्रस्तावहरुमाथि छलफल गरी संविधान निर्माण प्रक्रिया अगाडि बढाईने संविधानसभा सचिवालयले जनाएको छ । मधेसी दललगायत असन्तुष्ट पक्षहरुले छलफल प्रक्रिया रोकेर सहमति खोज्नुपर्ने बताएपनि प्रक्रियाकै बीचमा सहमति खोज्ने सहमति शीर्ष दलहरुले गरेका छन् ।
एकीकृत संशोधन प्रस्ताव बिहान ११ बजे बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ। संशोधन प्रस्तावहरूलाई एकीकृत गर्ने काम सोमबार राति अबेरसम्म पनि जारी थियो।
संविधानसभा बैठकमा मंगलबारदेखि नै संशोधनकर्तालाई संशोधन प्रस्तावसहित संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिन समय दिइनेछ।
५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन्। तीमध्ये एमालेका तीन सभासद् जितु गौतम दर्जी, दलबहादुर सुनार र पेम्बा भोटेले आफ्नो संशोधन फिर्ता लिएका छन् ।
संशोधनकर्ता सबैले प्रस्ताव पेस गरिसकेपछि संसदीय दलका नेताहरूलाई संविधानको विधेयकमा धारणा राख्न समय दिइनेछ। छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिनेछन्। संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ। नभए प्रस्ताव अस्वीकृत हुनेछ।
प्रत्येक संशोधन प्रस्ताव र संविधानका धारा ध्वनि मतले पनि पारित गर्न सक्नेछ। अन्तरिम संविधानको धारा ७० ले संविधानका धारा संविधानसभामा कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्न सक्ने गरी घुमाउरो व्यवस्था गरेकाले पारित गर्न कुनै समस्या नपर्ने स्रोत बताउँछ।
सबै प्रस्ताव निर्णयार्थ पेस गरेपछि संविधानका धारा निर्णयार्थ पेस गरिनेछ। संशोधन प्रस्ताव नपरेका धारा एकमुष्ट निर्णयार्थ पेस गर्ने कि छुट्टाछुट्टै भन्नेमा संविधानसभा सचिवालय निर्णयमा पुगेको छैन। नियमावलीअनुसार एकमुष्ट निर्णयार्थ पेस गर्न सकिनेछ। त्यसपछि सिंगो संविधान पारित प्रक्रियामा जानेछ।