काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन थालेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई गृहमन्त्रालयको परिपत्र अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरिएको प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

काठमाण्डु नैकापकी तेस्रोलिंगी कैलाश श्रेष्ठ भूमिकाले अन्य उल्लेख गरेर नागरिकता पाइन । गृहमन्त्रालयले २०६९ पुष १७ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई उनीहरुको पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गर्न परिपत्र जारी गरेको थियो ।

नैकापबाट तेस्रोलिंगी कैलाश श्रेष्ठ र भूमिका एकै व्यक्ति भएको कागज पेश गरेपछि यसअघि लिएको नागरिकताको प्रतिलिपि दिदै जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख गरेर नागरिकता दिएको हो । यसअघि कैलाश श्रेष्ठको नागरिकतामा लिंग उल्लेख थिएन । केही जिल्ला प्रशासन कार्यालयले पहिलेनै नागरिकता लिएकाको लिंग परिवर्तन गरेर पुन वितरण गर्न नसकिनै वताउँदै आएपनि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गृहमन्त्रालयको परिपत्र अनुसार भूमिकालाई पहिचान अनुसारको नागरिकता दिएको हो । प्रशासन कार्यालय काठमाण्डुका प्रशासकीय अधिकृत कुलशेखर अर्यालले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकतामा हस्ताक्षर गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले मनोज शाही मोनिकालाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिएको थियो । मोनिकाले राहदानी पनि अन्य उल्लेख गरेर लिइसकेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी योगराज पाण्डेयले अन्य उल्लेख गरेर नागरिकता दिन सकिने तर पहिलेको नागरिकतामा उल्लेख भएको नाम भने परिवर्तन गर्न नसकिने वताए ।

तेस्रोलिंगी भूमिकाले कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठकै नामबाट नागरिकता पाउनु पर्ने माग गरे पनि नाम परिवर्तन गर्न सकिने निर्देशिका र परिपत्र केही नआएकाले त्यो सम्भव नहुने पाण्डेयले वताए । अन्य उल्लेख गरेर नागरिकता दिन सकिन्छ सहायक प्रजिअ पाण्डेयले भने, तर नाम नै परिवर्तन भने गर्न सकिदैन । काठमाडौंबाट पहिलो पटक अन्य उल्लेख गरेर नागरिकता पाउने कैलाश श्रेष्ठ भूमिकालाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, अधिवक्ता प्रेम वहादुर थापा, सुजन पन्त, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन र नर्वेजियन परियोजनाका कार्यक्रम अधिकृत विश्वराज अधिकारीले बधाई दिएका छन् ।