२२ भदौ, वीरगञ्ज । मधेस केन्द्रित दलका नेताहरुले मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोश्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् ।
आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको छ ।
सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्याउन भारतीयलाई आग्रह गरे ।
सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच ‘रोटीबेटी’को सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए ।
‘हामीले मधेसबन्द गराएका छौं’, अध्यक्ष यादवले भने, ‘तपाईंहरुले रक्सौलबाट पेट्रोलियम र अन्य आवश्यक बस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् ।’ मधेसीले अधिकार माग्दा सरकारले सेना परिचालन गरेर दमन गरेको भन्दै उनले आन्दोलनमा अब भारतको सहयोग आवश्यक रहेको जिकिर गरे ।