बिराटनगर । प्रमुख तीन दलसँग असन्तुष्ट रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सोमबार बिराटनगरमा शक्ति देखाएका छन् । सुनसरीको इटहरीमा उनले सभालाई सम्बोधन गर्दै आन्दोलनको थालनी घोषणासमेत गरेका छन् ।
इटहरीमा आयोजित सभालाई सम्बोधन गर्न बिराटनगर विमानस्थलमा ओर्लिएका गच्छदारलाई कार्यकर्ताहरुले शक्ति प्रर्दशनसहित स्वागत गरेका छन् ।
मधेस बन्दका बावजुद सैयौंको संख्यामा मोटरसाइकलमा बिमानस्थल पुगेका कार्यकर्ताले गच्छदारलाई फूलमाला लगाएर नाराबाजी गर्दै विमानस्थलदेखि महेन्द्र चोकसम्म पुर्याएका थिए ।
आफ्नै पार्टी र मधेश केन्द्रित राजनीतिक दलहरूको चर्को दवाव खेप्दै आउनुभएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशको आन्दोलनको नेतृत्व आफूले सम्हाल्ने तयारी गर्नुभएको छ ।
उहाँले सबै पक्षसँग आन्तरिक छलफल र परामर्श गरेर मैदानमा उत्रिनु भएको जानकारहरूको भनाइ छ ।