काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द नेतृत्वसहित बहुमत सदस्यहरुले पार्टी अध्यक्ष पशुपतिशमशेर जबराविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएर हटाएको घोषणा गरेपछि राप्रपामा फेरि बबन्डर सुरु भएको छ।
आइतबार बिहान अविश्‍वास प्रस्ताव दर्ता गराएपछि पार्टी अध्यक्ष चन्द चयन भएको घोषणा गरिएको थियो। त्यसको लगत्तै पशुपतिले चन्द पक्षका १६ जनालाई निकालेको घोषणा गरेका छन्।
पशुपतिलाई हटाउन अविश्‍वासको प्रस्ताव दर्ता गराउनेमा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वाणिज्‍य तथा आपूर्तिमन्त्री एवं पार्टी नेता सुनील बहादुर थापा चन्दलगायत छन्।  चन्द नेतृत्वको टोलीले आफ्नो पक्षमा एक सय केन्द्ररीय सदस्यमध्‍ये ६३ जना रहेको दाबी गरी आयोगमा निवेदन दिएका छन्।
राप्रपाको नेतृत्व परिवर्तन गरिएको बारेमा चन्द पक्षले आइतबार दिउँसो नै पत्रकार सम्मेलन गरेको थियो।२०७० सालमा भएको सो पार्टीको महाधिवेशनमा पार्टी नेताहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीले पालैपालो पार्टीको अध्यक्षता गर्ने सहमति भएको थियो।

तर गत जेठमा केन्द्रीय समितिको बहुमतले राणालाई अधयक्ष बनाएको थियो। महाधिवेशनको बेलामा भएको सहमति कायृन्वयन नभएको भन्दै चन्द पक्ष गत जेठ देखि नै पार्टीको गतिविधिमा सहभागि थिएनन् र समानान्तर अभियान चलाएका थिए।

पूर्व राष्ट्रिय जनशक्ति पार्टी र असन्तुष्ट चन्द पक्षबीच लामो समय छलफल भएपछि अध्यक्ष राणालाई हटाएर चन्दलाई स्थापित गर्ने सहमति भएको हो। एकसय तीन केन्द्रीय समितिमा ६१ बहुमत भन्दा बढि हुन्छ। निर्वाचन आयोगले हस्ताक्षरको सनाखत गरेपछि मान्यता दिने प्रक्रिया अगािड बढाउने प्रवधान छ।
पत्रकार सम्मेलनमा बोल्दै नेता चन्दले आफुहरुले पार्टीलाई बिभाजित गरेको नभई एकताका लागि अगाडि बढाएको बताए । उनले निर्वतमान अध्यक्ष राणालाई पार्टीमा उचित सम्मान दिइने र उनी उच्चस्तरीय कार्यसम्पादन समितिको सदस्य  रहने बताए। उनले बिगत एक बर्षमा पार्टीका गतिविधि शुन्य भएकोले पनि यो कदम चाल्नुपरेको बताए।
राणाले चन्दको पक्षमा लागेर हस्ताक्षर गर्ने १६ केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गरेका छन् । उनीहरु सबै अध्यक्षद्धारा मनोनित हुन् ।  मनोनित गर्ने केन्द्रीय सदस्यलाई अध्यक्षले कुनै पनि बेला हटाउन सक्ने प्राबधान भए पनि निर्वाचित भने केन्द्रीय समितिको बहुमतले मात्र हटाउन सक्ने पार्टी बिधानमा ब्यबस्था छ।
राणाद्धारा हटाइएका केन्द्रीय सदस्यहरुमा बालाराम घर्ती मागर, ईन्द्रप्रसाद ढुंगेल, नवराज सुवेदी, हरिबहादुर बस्नेत, किरण गिरी, बाबुराम बस्नेत, सूर्यबहादुर केसी, भीमा यादव, जगत बहादुर थापा, मोहन थापा, शिवराज थापा, रामकृष्ण भट्टराई, दिनेश न्यौपाने, भरतजंग उप्रेती, गोपाल सेढाई, नन्दलाल चटौत छन।