काठमाडौँ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।

आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो । ‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’

आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको हो । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’

गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे ।तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो ।

तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ । पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो । संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् ।

तराईका जिल्लामा थप प्रहरी

प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा प्रहरी संख्या बढाउन थालेको छ । प्रहरी मुख्यालयमा कार्यरत करिब तीन सय प्रहरीलाई शुक्रबार तराईका जिल्लामा खटाइएको छ । थप पाँच सय प्रहरीलाई तराईमा पठाउन तयारी अवस्थामा राखिएको छ ।

प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका गणमा कार्यरत तीन सय प्रहरीलाई मध्यक्षेत्रीय प्रहरी कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । आवश्यकताअनुसार क्षेत्रले ती प्रहरीलाई विभिन्न जिल्लामा खटाउने मुख्यालयले जनाएको छ ।

तीन सातायता तराईका जिल्ला बन्द छन् । केही दिनयता हिंसात्मक आन्दोलन भएका छन् । शान्तिसुरक्षामा प्रहरीको संख्या कम भएपछि मुख्यालयमा कार्यरत प्रहरीलाई खटाइएको छ । सबै क्षेत्रमा अञ्चल तथा क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई समेत आन्दोलनरत क्षेत्रमा खटाउन लागिएको छ । पहाडी जिल्लाबाट क्षेत्रीय प्रहरी कार्यालयले तराईमा प्रहरी खटाउँदै आएका छन् । खासगरी सेना नखटिएका जिल्लामा नेपाल प्रहरीले संख्या थप्न लागेको हो । नयाँ पत्रिका