मोरङ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तीन सातादेखिको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुमा कार्यरत कामदारलाई तलब खुवाउन समस्या भएको छ ।
उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योग धन्दा सञ्चालन गर्न नपाएकाले कामदारलाई तलब खुवाउन समस्या भएको हो ।
उद्योगधन्दा बन्द हुँदा कारोबार ठप्प भएको र कामदारलाई तलब खुवाउन समस्या भएको उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बताए ।
उद्योगबाट उत्पादित वस्तु निर्यात हुन सकेको छैन । भारतबाट आयात गरिएको वस्तुहरू यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेकाले मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगहरू ठप्प भएका छन् ।
करिडोरमा करिब पाँच सय उद्योग सञ्चालित छन् । ती उद्योगमा करिब एक लाख कामदार कार्यरत रहेको बताइन्छ ।
अहिले विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई दैनिक गुजारा टार्न समस्या पर्न थालेको आद्योगिक मजदुर रोशन चौधरीको भनाइ छ । त्यस्तै मासिक तलब भत्तामा काम गर्नेहरूको नियति पनि त्यस्तै छ । रासस