सुनसरी। पूर्वका पहाडी जिल्लाहरुमा लगातार वर्षा भएपछि सप्तकोसीमा पानीको बहाव विहीबार यो वर्षकै उच्च पुगेको छ ।विहीबार दिउँसो ३ बजे गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख १४ हजार ७० क्युसेक पुगेको छ । प्रहरीका अनुसार पानीको बहाव बढेपछि सप्तकोसीका ५६ मध्ये २७ ओटा ढोका खोलिएका छन् ।
सप्तकोसीमा पानीको बहाव उच्च हुँदा पनि सबै ढोका नखोलिएको स्थानीयबासिन्दाको गुनासो छ ।सामान्यतः सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिँदै आएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरीको हरिपुर, भान्टाबारी, महेन्द्रनगर र चतरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको जानकारी दिए ।