बारा । संयुक्त मधेशी मोर्चाको प्रदर्शनका कारण तनावग्रस्त बन्न पुगेको बाराको कलैया र राजमार्ग क्षेत्रलाइ स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कर्फ्यू आदेश जारी गरेको छ । मोर्चा र प्रहरी बिचको झड्पका साथै १५ भदौमा एकजना प्रदर्शनकारीको मृत्युले स्थिती बिग्रँदै गएपछि जिल्ला प्रशासनले कार्यलय बाराले कलैया देखी पथलैया सम्मको क्षेत्रलाइ दंगाग्रस्त क्षेत्र घोषणा गर्दै रातिको समयमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पछिल्लो परिस्थितिलाइ सामान्य बनाउनका लागि स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ को ‘ख’ अनुसार दंगाग्रस्त क्षेत्र घोषणा गरि कर्फ्यू आदेश जारी गरिएको बताए । पन्थीका अनुसार कलैयास्थित नेपाल टेलिकमको कार्यालयदेखि पश्चिम त्रिभुवन राजपथ सम्म पुग्ने बिन्दुसम्मको सहायक राजमार्ग र दक्षिण परवानीपुरको ज्योति फार्म नजिकै रहेको मुक्ति आयल स्टोर्स देखि पथलैया सम्मको त्रिभुवन राजपथलाइ दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

दुबै राजमार्गको करिब पाँच सय मिटर दायाँ बायाँको क्षेत्र पनि दंगाग्रस्त क्षेत्र भित्र पर्ने पन्थीले जानकारी दिए । स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा भएको राजमार्गमा बेलुका ८ बजे देखि बिहान ७ बजेसम्म कर्फ्यू समेत लगाएको छ । दंगाग्रस्त क्षेत्र भित्र सभा , जुलुस , बैठक , भेला , प्रदर्शन , पोस्टर पर्चा टास्ने लगायतका कार्य गर्न नपाइने प्रजिअ पन्थीले बताए ।

कफ्र्युको समयमा प्रशासनको अनुमती नलिइ नहिड्न समेत प्रजिअ पन्थीले बिज्ञप्ति मार्फत आग्रह गरेका छन् । दंगाग्रस्त क्षेत्र घोषणा र कफर्यु आदेशपछि प्रशासनले सेना परिचालनको तयारी गरेको छ । प्रजिअ पन्थीले दंगाग्रस्त क्षेत्र घोषणा भएलगत्तै सेना परिचालनको बाटो खुलेको भन्दै आवश्यक्ता अनुसार नेपाली सेना तैनाथ गरिने जानकारी दिए ।

पन्थीले जारी गरेको विज्ञप्तिमा सुरक्षाका तीनवटै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाइ गोली हान्न समेत आदेश दिइएको उल्लेख छ । मोर्चा र प्रहरी बिचको झड्पमा मंगलवार कलैयामा २० वर्षीय हिफाजत मियाँ अंसारीको गोली लागी मृत्यु भएको थियो ।