महोत्तरी। संघीयताको सीमाङ्कनविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जलेश्वर जिरोमाइल स्थित नेपाल प्रहरीको बिट बुधबार आगो लगाइदिएका छन्।

 स्थिति अनियन्त्रित बनेपछि सुरक्षाकर्मीले चार राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेका छन्।परिकौली, पिपरा , सहोडवा , सुगा ,पिगौनाबाट आएका बन्दकर्ताहरुले प्रहरीलाई ढुंगामुढा गर्दै बिटमा आगजनी गरेका हुन्। सो क्रममा झडप हुँदा जिरोमाइल केही समय तनावग्रस्त भएको हो। प्रर्दशनकारीहरुले सुरक्षार्थ खटिएका प्रहरीलाई ढुङ्गा प्रहार गरी बिट कब्जा गरी पल्टाएर तोडफोड गर्दै पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।
चार राउन्ड अश्रुग्यास, एक राउन्ड हवाई फायर
झडपका कारण बुधबार विहानदेखि महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त छ। बिहान आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता जुलुस निकालेपछि जलेश्वर–५ स्थित महेन्द्र चौकमा झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड अश्रु ग्याँस, एक राउण्ड हवाई फायर गरेको छ।

प्रर्दशनकारीहरुको भिड सदरमुकाम जलेश्वरमा आउने क्रम जारी छ। जुलुस प्रर्दशनको क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै जलेश्वर नगरभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित बाक्लो पारिएको छ।