काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानमा सानातिना कुरा मिलेनन् भन्दैमा आन्दोलनमा उत्रेर जीवन गुमाउने क्रम रोकिनुपर्ने बताएका छन् ।
‘सबै समस्याको समाधान शान्तिपूर्णरुपमा वार्ताका माध्यमबाट गर्न सकिन्छ । उत्तेजक र हिंसात्मक आन्दोलनमा नजान आदिवासी–जनजाति नेतालारु आग्रह गर्दछु ‘, बुधबार बिहान भेट गर्न पुगेका आदिवासी–जनजाति बृहत् संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग प्रम कोइरालाले भने, ‘तपार्इंहरुको मागका सम्बन्धमा म आफैं अरु दलसँग कुरा गर्दैछु । सानोतिनो बहानामा आन्दोलन नहोस् ।’
प्रधानमन्त्री कोइरालाले मुलुक शान्ति र स्थिरतातर्फ लम्किरहेका बेला कैलाली, पर्सा र बारालगायतका जिल्लामा नागरिकले ज्यान गुमाउनु दु:खद भएको बताउँदै यो क्रम रोकी सबैपक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।
प्रम कोइरालाले दलहरु लचिलो भई सबैको भावना समेटेर सबैलाई मिलइ पहिलोचोटी संविधानसभाबाट संविधान आउन लागेको उल्लेख गरे । ‘यो पत्थरको लकिर पनि होइन र यो नै अन्तिम लेनदेन पनि होइन’, उनले भने, ‘गतिशील संविधानमा आज मिलेन भन्दैमा भोलि नहुने कुरा छैन ।’
‘मैले शान्ति, स्थायित्व र विकासका लागि तपाइँहरुबाट ठूलो अपेक्षा राखेको छु,’ प्रधानमन्त्री कोइरालाले भने, ‘मुलुकलाई द्वन्द्वमा जानबाट सबैले रोक्नुपर्दछ । नेपाललाई द्वन्द्वबाट जोगाउनु पर्दछ । नेपाललाई बचाउनु पर्दछ ।’
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुक द्वन्द्वमा फसेपछि उम्किन कठिन हुने तथ्य पनि उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाउनुभयो ।
प्रधानमन्त्रीले जनतालाई छिटो छरितो र भरपर्दो रुपमा सेवा दिन जिल्ला सदरमुकाममा रहेका कार्यालय यथावत् राखी अन्य क्षेत्रमा सेवा केन्द्र स्थापना गर्दासमेत जनता आन्दोलनमा उत्रेर जीवन गुमाएको घटनाको स्मरण गराउँदै आम जनतासमक्ष सही र यथार्थ सूचना नपुग्दा पनि समस्या उत्पन्न हुने गरेको बताए ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि आम जनताको विकासप्रतिको चाहना चुलिएको उल्लेख गरे । ‘जुन स्थिति नेपालको अहिले छ, यस पहिले यस्तो थिएन’, उनले भने, ‘अब नेपाल विकासतिर लम्कन्छ । आठ-१० वर्षमा छलाङ हान्ने अवस्था छ ।’
सो अवसरमा बृहत् संयुक्त सङ्घर्ष समितिमा रहेका आदिवासी–जनजाति नेताले संविधानको विधेयकमा भएका प्रावधानमा जनजाति आयोग गठन गरिनुपर्ने, प्रदेशको संरचनामा जातीय सम्बन्ध र बसोबासलाई सहज हुनेगरी बनाउनुपर्ने, संविधानमा समानुपातिक समावेशी भन्ने वाक्यांश राखिनुपर्नेलगायतका विषय समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
भेटका अवसरमा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले अहिले संविधानसभामा रहेका र सरकारमा रहेका पार्टी विगत २४० वर्षको विरासत लिएका शक्तिसँग लडेको पार्टी भएकाले विगतमा भएका विभेद्सँग वर्तमान सरकार र पार्टीलाई नजोड्न आग्रह गरे ।
‘हामी त समाजमा विभेद् नहोस् । न्याय होस्’, उनले भने, ‘शान्ति, स्थायित्व र विकास होस् भनेर लागेको छौँ ।’
उनले संविधानसभाबाट जनताका अधिकार सुरक्षित गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन सबैको सहयोगको खाँचो औँल्याए । रासस