वीरगन्ज । मंगलबार प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएपछि वीरगन्जमा बुधबार बिहानदेखि नेपाली सेना परिचालन भएको छ ।
हतियारसहितका सेनाले नगरका विभिन्न स्थानमा बिहानैदेखि गस्ती गरिरहेका छन् । यस्तै सेनाको एक टुकडीले बुधबार बिहान वीरगन्ज नगरक्षेत्रमा मार्चपाससमेत गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने सेना परिचालनबारे आफुलाई थाहा नभएको बताए ।‘सेना परिचालनको औपचारिक निर्णय भएको छैन, शायद गाडी स्कर्टिङका लागि सेनाले गस्ती गरेको होला’, घिमिरेले बुधबार बिहान भने ।

प्रहरी र सेनाको सहयोगमा स्थानीय प्रशासनले बुधबार बिहान वीरगन्ज नाकाबाट झण्डै दुई सय मालबाहक सवारी साधन विभिन्न गन्तब्यमा पठाएको छ ।सडकमा हतियारसहित निस्किएका सेनाले गस्ती र मार्च पास गर्न थालेपछि नगरवासी झन त्रसित बनेका छन् ।

वीरगन्जमा सोेमबारदेखि अनिश्चितकालीन कफर्यू जारी छ । मंगलबार दिउँसोदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
वीरगन्जमा सोमबार र मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी र सर्वसाधरणको मृत्यु भइसकेको छ ।

गोली लागेर २५ जना भन्दा बढि घाइते भएका छन् । गम्भीर घाइते तीनजनाको काठमाडाैंमा उपचार भइरहेको छ ।यस्तै मंगलबार भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि २० जना भन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएको प्रजिअ घिमिरेले बताए ।अहिले सेनाले विरगञ्जको वीरगन्ज भन्सार कार्यालय, रजत जयन्ती चोक, छपकैया, बिर्ता, मकालु चोक, घन्टाघर,लगायतको स्थानमा गस्ति गरेको छ ।आन्दोलनकारीले हिंस्राक गतिविधि गर्न थालेपछि स्थितीलाई नियन्त्रणका  लागी प्रसासनले सेना सशस्त्र र प्रहरीलाई हाइअलटमा राखेको जनाएको छ ।