एजेन्सी । रियालिटी सो ‘बिगबोस’बाट चर्चामा आएकी स्विडिस ग्रिक अभिनेत्री इली अवराम वलिउड अभिनेता सलमान खानसँग काम गर्न इच्छुक रहेको बताएकी छन्।
यसका लागि उनी सही चलचित्रको प्रतीक्षामा छिन्। बिगबोसको सातौ सिजनमा सहभागी भएर चर्चामा आएकी २५ वर्षीया अभिनेत्रीले सोका होस्ट सलमानलाई त्यही समय चिन्ने मौका पाएकी हुन्। सलमानको उनीप्रतिको लगाव पनि सार्वजनिक भएको थियो।
अहिले उनी आफ्नो नयाँ चलचित्र ‘किसकिसको प्यार करूँ’को प्रदर्शन मिति पर्खिरहेकी छन्। यस चलचित्रमा उनीसँग हास्यकलाकार कपिल शर्माले अभिनय गरेका छन्। कपिलले यही चलचित्रबाट बलिउडमा कदम राखेका हुन्।एक महिनापछि प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन अब्बास मस्तानले गरेका छन्।