काठमाडौं । एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । नेपालले १४ ओभर ४ बल मै लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि आशिष धामी र राजवीर सिंहले शानदार ब्याटिङ गर्दै जित दिलाएका हुन् । प्रारम्भिक ब्याट्सम्यान सुनील धमला ३ रनको व्यक्तिगत स्कोरमा सईद अजिजको शिकार भए पनि धामी र सिंहले नेपाललाई जित दिलाउन गतिलो प्रदर्शन गरे ।

नेपालका लागि राजवीर सिंहले ३३ रन बनाए भने आशिष धामीले अविजित ३८ रन बनाए ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमै आफ्ना सबै विकेट गुमाएर ७५ रनको योगफल तयार पारेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा युएईबिरुद्ध फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटको लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरेबिया र कतारको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै टोलीले राउण्ड रोेबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगिताको शीर्ष तीनभित्र पर्ने टोली अन्डर–नाइन्टिन एसिया कपका लागि छनोट हुनेछन् ।