१३ भदौ, काठमाडौं ।  श्रावण शुक्ल पूर्णिमादेखि भाद्रकृष्ण अष्टमीसम्म आठ दिनसम्म मनाइने गाईजात्रा पर्व आइतबारबाट विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीनवटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए ।
सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।
राजाले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी दिएको आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ ।

यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने अर्को भनाइ पनि छ ।रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाईभेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ ।