काठमाडौँ । एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा युएई २० ओभर ५ बलमै सबै विकेट गुमाएर ५० रनमै सीमित भयो ।

युएईका ६ ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् । उसका प्रारम्भिक दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रनको योगदान गरेका थिए । जस अनुसार बरुण परेराले ३२ र जाफ्री जाफरदिनले १२ रन बनाए । अन्य तीन ब्याट्सम्यानले व्यक्तिगत १–१ रनको मात्र योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाई १९९ रन बनाएको थियो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा बाहिरिएका थिए । सुरुमै दबाबमा परेको नेपालका लागि मध्यक्रममा राजु रिजालले अर्द्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोरमा पु¥याएका थिए । उनले ६२ रन बनाए ।

युएईका लागि जारिफ जफर्दिनले तीन विकेट लिए भने अहसन अली खान र अब्दुल्लाह आसिफले दुई–दुई विकेट लिए । त्यस्तै योधिन पुन्जा, अथर्व कवि र कुलिथ रबेलले एक–एक विकेट लिए ।

युएईलाई सस्तोमै समेट्ने क्रममा नेपाली बलर सुशील कँडेलले चार विकेट लिए । उनले सात ओभरमा तीन मेडन राख्दै केवल सात रन खर्चिएर चार विकेट लिएका हुन् । त्यसैगरी सुनिल धमलाले तीन र प्रेम तामाङले दुई विकेट लिए ।