टीकापुर, भदौ ११। प्रहरीले टिकापुर संहारमा सम्लग्न भन्दै मंगलबार पक्राउ परेका ७ जनालाई ज्यान मुद्दा चलाउने भएको छ। पक्राउ परेका १० मध्ये ३ जनालाई प्रहरीले बिहीबार रिहा गरेको छ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको ज्यान लिएको घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि उनीहरू विरुद्ध ज्यानमुद्दा चलाउने तयारी भएको बताएका छन्। ज्यान मुद्दा चलाउन गहिरो अध्ययन र अनुसन्धान भइरहेको छ।

त्यसरी ज्यान मुद्दा चलाउन प्रक्रिया सुरु गरिएकाहरूमा कैलाली मनुवा– १ कन्चनपुरका वर्ष २८ का रामकुमार कठरिया(चौधरी) यसै ठेगानाका क्रमशः वर्ष २५ का राजकुमार कठरिया(चौधरी), वर्ष २२ का दिलबहादुर चौधरी र २३ वर्षका सुन्दरलाल कठरिया छन्।

त्यसरी नै ज्यान मुद्दा चलाउन तयारी गरिएकाहरूमा भजने त्रिशक्ति नगरपालिका ४ का वर्ष ४० का प्रेमबहादुर चौधरी, मनुवा गाविस ४ का २२ वर्षका हरिनारायण चौधरी र जोशीपुर ४ का झवहीका ४४ वर्षका रामप्रसाद चौधरी छन् । यिनीहरुलाई मंगलबार बिहान सोही स्थानबाट पक्राउ गरिएको थियो।

ज्यान मुद्दा लगाउन तयारी गरिएका ७ जनालाई धनगढीस्थित जिल्ला अदालत लगेर बुधबार १० दिनको म्याद थप गरिएको छ। अभियोग स्वीकार गरिसकेकाले अब चाडैनै उनीहरू विरुद्ध ज्यानमुद्दा लाग्ने प्रहरीले जनाएको छ।

टिकापुरस्थित इलाका प्रहरी कार्यालयले व्यापक मात्रामा प्रहरी परिचालन गरेर सोमबारको घटनामा संलग्न व्यक्तिको खोजी जारी राखेको छ। त्यसका लागि जिल्लाभर व्यापक प्रहरी र गुप्तचर परिचालन गरिएको बताइएको छ।