धनगढी, भदौ १० । शान्ति सुरक्षाको पछिल्लो अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले कैलालीका ८ वटा प्रहरी चौकीमा प्रहरीको संख्या र हतियार थपेको छ ।
सम्भावित हिंसाका घटनाहरुलाई नियन्त्रण गर्न चौकीमा सशस्त्र प्रहरीलाई पनि राखिएको छ । कैलालीको धनसिंहपुर र हसुलियामा सशस्त्रको बेसक्याम्प राखिएको छ ।

बौनिया, जोशीपुर, नारायणपुर, टीकापुर, चौमाला र खक्रौलामा प्रहरी र हतियारसँगै सशस्त्र प्रहरी पनि थपिएको  छ । त्यस्तै राजमार्गलाई सुचारु गर्न सुरक्षा निकायका चार वटा टोली परिचालन गरिएको छ ।

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ वटा गाविसमा लगाएको अनिश्चितकालीन कर्फ्यु बिहीबार चौथो दिन पनि जारी छ ।

टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको हो ।

दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । उता, धनगढी नगरपालिकामा आज ११ बजेदेखि साँझ ६ बजेसम्म लागू हुने गरी फेरी कर्फ्यु आदेश जारी गरिएको छ ।

बुधबार बिहान ११ बजे लगाइएको कर्फ्यु साँझ ६ बजे फुकुवा गरे पनि जिल्ला प्रशासन कार्यालय कैलालीले शान्ति सुरक्षा बिग्रिन नदिने भन्दै पुनःकर्फ्यु आदेश जारी गरेको हो ।