काठमाडौं । आन्दोलनरत थरुहट समुहसंग सरकारले वार्ताको तयारी थालेका विवरणहरु बाहिर आएका छन्, तर थरुहट आन्दोलनका आयोजकहरुले सरकारले अहिलेसम्म औपचारिक वार्तामा नबोलाएको भन्दै लिखित रुपमा बोलाए आफुहरु तयार रहेको बताएका छन्।
थरुहट आन्दोलनका कारण अशान्त बनिरहेको पश्चिम तराईमा जारी आन्दोलन सम्बोधन गर्नेबारे शीर्ष नेताहरुले छलफल गर्ने जनाइरहेपनि त्यसको ठोस पहल नभएको उनीहरुको भनाई छ।
प्रधानमन्त्री सुशील कोइरालाले बुधबार संविधान सभामा वोल्दै असन्तुष्ट पक्षहरुलाई आन्दोलन त्यागी वार्तामा आउन आग्रह गरेपनि आन्दोलनरत थरुहट नेताहरुले भने सरकारले अहिलेसम्म औपचारिक तवरले वार्तामा नबोलाएको बताएका छन्।
असन्तोष
थारु कल्याणकारी सभा अन्तर्गत आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले भने, “प्रधानमन्त्री ज्युले भन्नु भएको होला, संचारकर्मीका विचमा भन्नुभएको होला, तर दुई हप्ता वितिसक्यो, आन्दोलनकारी संगठनलाई अहिलेसम्म औपचारिक रुपमा कुनै टेलिफोन कुनै चिठ्ठी या पत्र प्राप्त भएको छैन।”
थारु आन्दोलन चर्कंदै गएर गत सोमबार कैलालीमा आठ जनाको ज्यान गएपछि हिजो प्रमुख चार दलका नेताहरुले वार्ताबाटै समस्याको समाधान खोज्न सहमत भएको बताएका थिए।
केही शीर्ष तहका नेताहरुले थारुहरुको मागमा सकारात्मक प्रतिक्रिया दिएपनि पश्चिम नेपालमा भड्किएको अशान्ति रोकिने खालका कदमहरु नचालिएको भन्दै आन्दोलनकारीहरुले असन्तोष पोखेका छन्।
थरुहट थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता समेत रहेका सभासद अमनलाल मोदीले भने, “थारुहरुको क्लस्टरहरु भत्काउनु भएन, जस्तै कैलाली र कञ्चनपुर । पुर्वमा मोरंग, सुनसरी र झापा कुनै क्लस्टर नभत्काइकन सीमांकन गरिनु पर्यो।”
“र, थारुहरु जवसम्म आफ्नो हक अधिकार प्राप्त गर्दैन, तवसम्म आन्दोलन रोकिंदैन।”थारुहरु बाहेक असन्तुष्ट मधेशी दलका नेताहरुसंग पनि प्रधानमन्त्रीले वार्ताको लागि प्रयास थालेको बताइएको छ।
बुधबार उनले तराई मधेश लोकतान्त्रिक पार्टीका नेतासंग फोनमा कुराकानी गरेका थिए। तर औपचारिक वार्ता कहिले र कसरी भन्ने अझै प्रष्ट भइसकेको छैन। स्रोत BBC