भारतको गुजरातमा पटेल समुदायको आन्दोलनले उग्र रूप लिएपछि तीन प्रदर्शनकारीको मृत्यु भएको छ। विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ।
गुजरातको सुरतमा सहरमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा निषेधाज्ञा जारी गर्दै अर्धसैनिक बल तैनाथ गरिएको छ।
पटेल समुदायले अति पिछडिएको समुदाय सरह आरक्षणको माग गर्दै सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो। अहिले गुजरातमा सबै शिक्षणसंस्था बजार पसल बन्द गरिएको छ ।
आन्दोलनकारीले सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन्। स्थिति अनियन्त्रित भएपछि स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवासमेत बन्द गराएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
आन्दोनलनको नेतृत्व गरिरहेका २२ वर्षीय हार्दिक पटेललाई प्रहरीले नियन्त्रणमा लिएपछि भीड थप उग्र भउको हो।
मंगलबार पटेल समुदायका करिब १ लाख प्रदर्शनकारीले अहमदावादमा प्रदर्शन गरेका थिए। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री आनन्दीबेन पटेलले शान्ति कायम राखि संयम अपनाउन सबै पक्षमा आह्वान गरेका छन्।
हिराको ब्यापार गर्दै आएका पटेल समुदाय गुजरातको कुल जनसंख्याको २० प्रतिशत हाराहारी छन्।