काठमाडौं। अहिलेको तराई आन्दोलनसँग ठ्याक्कै मेल खाएपछि नायक निखिल उप्रेतीको निर्माणमा बनेको चलचित्र ‘भैरव’ सेन्सर बोर्डमै अड्किएको छ ।

यही भदौ ११ गतेदेखि प्रदर्शनमा आउने भनेर चलचित्रको व्यापक प्रचारप्रसार गरिएपनि यो चलचित्र प्रदर्शन गर्न दिँदा झन् ठूलो द्धन्द्ध हुनसक्ने भन्दै सेन्सर बोर्डले सेन्सर पास दिन सकेको छैन ।

चलचित्रको कथावस्तु अहिले मधेसमा जारी आन्दोलनसँग दुरुस्त मेल खाने खालको छ ।५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएर लाखौं लगानी गरेर निर्माण गरिएको चलचित्र प्रदर्शनको मिति आउनै लाग्दा समेत सेन्सर बोर्डले वार की पार नलगाईंदिँदा निखिल उप्रेती यतिबेला ठूलो तनावमा छन् ।

चलचित्र सेन्सर बोर्डले अहिलेको जटिल अवस्थामा भैरव सेन्सरबाट मुक्त गर्न नसकिने भन्दै के गर्ने भनेर गृह मन्त्रालयसँग सहयोग मागेको छ ।

चलचित्रले मधेसको आन्दोलनलाई बढावा दिने वा झन् द्धन्द्ध बढाउन सक्ने भन्दै चलचित्र पास हुन नसकेको हो । अब यो चलचित्र गृह मन्त्रालयका सचिव र सभासदलाई देखाएर मात्रै सेन्सरबाट पास गर्ने वा नगर्ने निर्णय हुनेछ ।