९ भदौ, काठमाडौ। एसएसपी लक्ष्मण न्यौपानेसहित आठजनाको मृत्यु हुने गरी थरुहट कार्यकर्ताले कैलालीको टीकापुरमा सोमबार गरेको हिंसात्मक आक्रमण कमजोर सुरक्षा संयन्त्रको परिणाम भएको टिप्पणी उच्च सुरक्षा अधिकारीहरूले गरेका छन्।
(थरुहट) थारुवान कार्यकर्ताले निषेधाज्ञा तोड्न खोजेको सूचना पाएसँगै एसएसपी न्यौपाने प्रहरी टोलीसहित भीडलाई सम्झाउन पुगेका थिए। उक्त भीड हतियारसहित थियो वा निःशस्त्र थियो भन्ने सूचनाबिनै न्यौपाने पुगेका थिए।
घटनालाई नजिकबाट नियालिरहेका एक प्रहरी अधिकृतका अनुसार भाला, खुकुरी, तरबार, हँसिया र बन्चरोसहित आन्दोलनमा उत्रिएकालाई प्रहरीले कमजोर मूल्यांकन गर्नु हुँदैनथ्यो। ‘हतियार नचलाए पनि भैपरी आउने खण्डका लागि हतियारसहितको रिजर्भ टोलीलाई तयारी हालतमा राख्न सकिन्थ्यो। त्यो हुन सकेन’, एक उच्च प्रहरी अधिकृतले भने।
प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख एआईजी गणेश राईले छापामार शैलीमा आएका आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेको बताए। उनले भने, ‘प्रहरीले धेरै संयम अपनाए पनि ‘मार या मर’ जस्तै निर्देशनमा उत्रिएका हतियारधारी जत्था सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यसलाई नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालनमा प्रहरी संयन्त्र चुकेको पाइयो’
आन्दोलनमा प्रहरी खटाउँदा सुरुमा सम्झाउने, नमाने अ श्रुग्यास र लाठी प्रहार गर्ने र अन्तिम समयमा सीडीओको आदेशमा गोली हान्ने रणनीति हुने राईले बताए। तर सोमबार सीडीओले गोली हान्ने आदेश ढिला दिएकाले पनि प्रहरीतर्फ धेरै क्षति हुन पुगेको मुख्यालयले जनाएको छ।
स्रोतका अनुसार एसएसपी न्यौपाने मारिएपछि मात्रै सीडीओले गोली हान्ने आदेश दिएका थिए। ‘अनुसाशित र निर्देशनमा चल्ने प्रहरी फौजलाई एकैपटक छापामार शैलीमा आक्रमण होला भन्ने सूचना थिएन’, एआईजी राईले भने। उनका अनुसार जुलुसमा सुरुमा बालबालिका र महिलालाई अगाडि सारिएको थियो। हतियारधारी समूह पछाडिमात्रै समावेश भएर हिंसामा उत्रिएको थियो।
क्षेत्रीय प्रहरी कार्यालय दिपालयका प्रमुख डीआईजी रामकुमार खनाल धनगढीमै रहेका बेला उनले आफ्नै मातहतमा भएका ठूला घटनाको विश्लेषण गरेर थप प्रहरी समयमै परिचालिन नगर्नु ठूलो लापरबाही भएको ठहर मुख्यालयले गरेको छ।त्यहाँ सशस्त्र प्रहरी बलका एसपी लक्ष्मणबहादुर सिंह आफ्ना टोलीसहित खटिएका थिए।
उनका अंगरक्षक हबल्दार रामबिहारी थारूको मृत्यु भएको थियो। आफ्ना अंगरक्षक मारिएलगत्तै ‘हतियार नचलाऊ’ भन्दै एसपी सिंह भागेकाले पनि सुरक्षाकर्मीतर्फ धेरै क्षति हुन पुगेको आकलन नेपाल प्रहरीको छ।
केही प्रहरी अधिकृतले भने प्रहरीले संयमता अपनाएकै कारण धेरै सर्वसाधारण मारिनबाट जोखिएको विश्लेषण गरेका छन्। ‘आइतबार साँझ वार्ता गरेर अब आन्दोलन नगर्ने भनेर सहमति भइसकेपछि सोमबार यसरी हतियारसहित आउँदैछन् भन्ने आकलन कसरी गर्न सकिन्छ? प्रहरी घटनामा उत्रिनुअगाडि आन्दोलनकारीको संख्या र अवस्थाबारे सुसूचित हुनु अनिवार्य थियो’, प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने।
टीकापुरका थारूलाई उचाल्ने नेतृत्वदायी भूमिका खेलेका सभासद् अमरेशकुमार सिंह र राजेन्द्र महतोको गतिविधिलाई नजिकबाट नियाल्न पनि प्रहरी चुकेको बुझाइ मुख्यालयको छ। ‘सप्तरीका सभासद् कैलालीसम्म किन पुग्छ? संसद्मा किन धम्कीपूर्ण भाषा बोल्छ? भन्ने ज्ञान राज्यको माथिल्लो तप्काले पनि गम्भीर रूपमा मूल्यांकन गरेर आवश्यक कदम चाल्नुपर्थ्यो।’
स्रोतका अनुसार कैलालीको टीकापुर, सप्तरी, गौर, भैरहवालगायतका स्थानमा सभासद् सिंह र महतोको चलखेलबारे प्रहरीले गृहमन्त्रीलाई सोमबारको टीकापुर घटनाअगाडि नै जानकारी गराइसकेको थियो। तर सरकारले त्यसलाई हल्का रूपमा बुझिदिएको मुख्यालयका ती अधिकृतले बताए ।-अन्नपूर्ण पोस्ट्