दंग्राग्रस्त घोषणा गरिएको कैलालीको टिकापुरमा फेरि तनाव देखिएको छ।
कर्फ्यु आदेशका बावजुद टिकापुरमा स्थानीयबासिन्दाहरु बाहिर निस्केर आगजनीमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले बीबीसीलाई बताए।
उनका अनुसार आक्रोशित भीडले संघर्ष समितिका एकजना सदस्य रेशम चौधरीद्वारा सञ्चालित फुलबारी एफएम र फुलबारी रिसोर्टमा आगजनी गरेको छ।
त्यस्तै, उक्त भीडले विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् जनक चौधरीको घरमा आगजनी गरेको खनालले बताए।
हवाईफायर
आक्रशित भीडलाई तितरबिर पार्न प्रहरीले करिब एक दर्जन हवाईफायर गरेको बताइएको छ।
यसैबीच, आज विहान बसेको चार दलको बैठकमा गृहमन्त्री वामदेव गौतमले कैलाली घटनाबारे जानकारी गराएका थिए।
उक्त बैठकले त्यस क्षेत्रमा सामाजिक सद्भाव र एकता नबिग्रियोस् भनेर त्यहाँ शान्ति सुव्यवस्था कायम गर्ने जिम्मा सरकारलाई दिएको एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
उनले भने, “ उक्त घटनाको राजनीतिक पाटो र थारु समुदायले उठाएका माग कसरी सम्बोधन गर्ने भनेर आज साँझबाटै शीर्ष नेताहरुले छलफल थाल्ने भन्ने निर्णय पनि भएको छ।”
त्यसअघि बसेको एकीकृत माओवादीको स्थायी समितिको बैठकले विभिन्न स्थानमा भईरहेका आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकाल्दै दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेको थियो।
दुःख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिकापुर हिंसामा ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री सुशील कोइरालालाई आज टेलिफोन गरी हिंसामा ज्यान गुमाएकाहरुको परिवारप्रति संवेदना प्रकट गरेको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मोदीले संयम अपनाउनुपर्ने र शान्ति सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका थिए।
उनले सरकार, सबै राजनीतिक दल र नेपाली जनतालाई हिंसाबाट टाढा रहन र सामाजिक सद्भाव कायम गर्न आग्रह समेत गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालको राजनीतिक नेतृत्वले सबै पक्षबीच सम्भव भएसम्मको छलफल र संवादमार्फत विवादित विषयहरुको समाधान खोज्नुपर्ने मोदीले दोहोर्याएका छन्।
उनले एकीकृत, शान्त, स्थिर र समृद्ध नेपालभित्र विविधताले भरिएको सबै जनताको भावना मुखरित हुने गरी समस्याको हल खोज्नुपर्ने पनि दोहोर्याएका छन्।
स्रोत बिबिसि