टीकापुर, भदौ ७ केही दिन यता थरुहट प्रदेश माग गर्दै आएका थरुहट कार्यकर्ता र प्रहरीबीच सोमबार अपरान्ह कैलालीको मुनुवा गाविस ६ सिलम चौराहामा भएको झडपमा सेती अञ्चलका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा एसएसपी लक्ष्मण न्यौपाने, एसएसपीका नाम नखुलेका सुरक्षागार्ड , इन्सपेक्टर बलराम बिष्ट, केशव बोहोरा, प्रहरी जवान लोकेन्द्र चन्द, हवल्दार राम बिहाही चौधरी र ललित साउँदको मृत्यु हुनुका साथै दर्जनौ प्रहरी घाइते भएको प्रहरीले जनायो ।  ६/७ हजारको सङ्ख्यामा आक्रमण गर्न तयारी अवस्थामा आएका थरुहट कार्यकर्ताले टीकापुरमा रहेका सरकारी कार्यालयमा स्वायत्त थरुहट प्रदेश लेख्न खोज्दा भएको झडपमा एसएसपीसहित ९ जना मृत्यु भएको हो ।

प्रदर्शनकारीले प्रहरीमा माथि घरेलु हातहतियारले आक्रमण गर्दै केही प्रहरीलाई आगो लगाएर मारेका थिए । मृतक एसएसपी लक्ष्मण न्यौपानेलगायतकाको शव टीकापुर अस्पतालमा राखिएको छ भने घाइतेको त्यहीँ उपचार भइरहेको छ । त्यस्तै झडपमा गम्भीर घाइते भएकालाई काठमाडौं लैजान हेलिकप्टर मगाइएको प्रहरीले जनायो भने थरुहट पक्षधरतर्फको क्षति यकीन हुन सकेको छैन ।

प्रहरीलाई थरुहट कार्यकर्ताले धारिलो हतियार, भाला, बन्चरो  र भरुवा बन्दुक प्रहार गरेको एक सुरक्षा अधिकारीले जनाए। सुरक्षा अधिकारी मारिए पछि प्रहरीले प्रतिकार गर्ने क्रममा अश्रु ग्यास र गोली चलाएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले टीकापुर क्षेत्र निकै तनावग्रस्त भएको स्थानीय गोपाल जंग थापाले जानकारी दिए ।

यस्तै  रौतहटको गौरमा पनि प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको छ। प्रहरीले प्रतिकार स्वरूप गोली चलाएपछि अहिले रौतहटको गौर तनावग्रस्त छ। रौतहटको गौरमा रहेको विभिन्न सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय लगायत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरमा मोर्चाका कार्यकर्ताहरले ढंगामुडा गरेको जानकारी प्रमुख जिल्ला अधिकारी मदन भुजेले गराउनु भयो तथा स्थिती नियन्त्रण लिन प्रहरीले रबरको गोली तथा अश्रु ग्याँस प्रहार गरिएको जानकारी गराउनु भयो ।