काठमाडौं, भाद्र ७ । साहित्यकार महेश पौड्यालको उपन्यास तादी किनारको गीतलाई नायिका रेखा थापाले राजधानीमा सार्वजनिक गरेकी छिन् । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार जितेको यस पुस्तकलाई बुकआर्ट नेपालले शनिबार बजारमा ल्याएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलामा थापाले कृतिको लोकार्पण गर्दै लेखक पौड्याललाई बधाई तथा शुभकामना दिइन् । उनले पछिल्लो समय आफू साहित्यतिर निकै आकृष्ट भएको, तथा साहित्य र चलचित्र एकै ठाउँ आइपुग्दा उत्कृष्ट काम हुन सक्ने बताइन् । कृतिका बारेमा युवा लेखक गणेश ढुङ्गाना र समालोचक राजकुमार बरालले टिप्पणी गरेका थिए ।

ढुङ्गानाले कृति किशोरहरूको मनोविज्ञान समाउन सफल भएको बनाए भने बरालले कृति सबाल्टर्न अध्ययनमा एक नयाँ पाइलो बताए ।  उपन्यासले काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा माझीको संघर्ष र रुपान्तरणको कथा बोकेको छ र बालविवाहको प्रचलनले बालबालिका र किशोरकिशोरीमा पर्ने शारीरिक र मनोवैज्ञानिक असरलाई खोतलेको छ ।