काठमाडौं । विनाशकारी भूकम्पपछि सरकारले पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेको छ। यसपालि शरद ऋतुका लागि सगरमाथा आरोहण अनुमति खुला गरिएको हो। गत वैशाख १२ मा गएको भूकम्पका कारण सगरमाथामा पहिरो जाँदा डेढ दर्जन आरोहीले ज्यान गुमाएका थिए।
 त्यसपछि वसन्त ऋतु (चैतदेखि जेठ) सम्म हुनुपर्ने आरोहण स्थगित भएको थियो । सगरथा शिखर चुम्न आएका संसारभरका सयौं आरोहीले सहधर्मीको नाममा आरोहण स्थगित गरेका थिए । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उत्तम याम मानिन्छ ।भूकम्पका कारण रोकिएको आरोहण अहिले शरदमा आएर पुनः हुन लागेको हो ।

यसपालि शरदमा सगरमाथा शिखर जाने पहिलो आरोहीको अनुमति जापानका नोबुकाजु कुरिकीले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री कृपासुर शेर्पाले कुरिकीलाई सगरमाथा आरोहण अनुमतिपत्र प्रदान गरे ।

‘विनाशकारी भूकम्पपछि शरद ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति जारी गर्न पाउँदा हामी खुसी छौं,’ पर्यटन मन्त्री शेर्पाले भने, ‘भूकम्पबाट पर्यटन क्षेत्रमा परेको प्रभाव र त्यसबाट विश्वबजारमा गएको नकारात्मक सन्देश चीर्न सगरमाथा आरोहणले उल्लेख्य मद्दत गर्ने विश्वास छ ।’

कुरिकी मंगलबार हेलिकोप्टरबाट सगरमाथा जानेछन् भने भदौ अन्तिमतिर शिखर पुग्ने लक्ष्य लिएका छन् । ‘मेरो आरोहणको मुख्य उद्देश्य भनेको भूकम्पपछि पनि पर्वतारोही र पदयात्रीका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउनु हो,’ आरोहण अनुमतिपत्र लिएपछि ३३ वर्षीय कुरिकीले भने, ‘यसमा सफल हुन्छु भन्ने बलियो आत्मविश्वास छ ।’