काठमाडौँ। सिनियर टोली जस्तै उमेर समूह फुटबलमा पनि नेपालले उपाधि जित्न संघर्ष गरिरहेको छ। उपाधि खडेरीतोड्ने लक्ष्य लिएको नेपालले साफ यु–१९ च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भुटानको सामना गर्दैछ।
यु–१९ फुटबलका लागि नेपालले चार महिनादेखि तयारी सुरु गरेपनि वैशाख १२ को भूकम्पका कारण प्रशिक्षण प्रभावित बनेको थियो। भूकम्पले पुर्यााएको भौतिक क्षति र मानसिक तनाब पन्छाउँदै टोलीले करिब दुई महिना तयारी गरेको छ।

यु–१९ प्रशिक्षक बालगोपाल महर्जनघरेलु मैदानमा उपाधि जितेर विगतको नतिजाबिर्सन प्रयास गर्ने बताउँछन्। उनले भने, ‘प्रतियोगिता खेल्न तयार छौं। चार वर्षदेखि एउटै टिममा काम गरेपनि सफलता प्राप्त गर्न सकेको छैन। समूह चरणमा हामीले सधैँ राम्रो खेले पनि नकआउट चरणमा हामी चुक्दै आएका छौं। तर, यसपटक घरेलु मैदानमा सुखद नतिजा निकाल्न सतप्रतिशत मिहिनेत गर्नेछौं।’

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भुटानसँग खेल्न टोली तयार भएको बताए। उनले भने, ‘विगतलाई हेर्दा हामी भुटानभन्दा अगाडि छौं। तर, फुटबलमा सधँै विगतको नतिजा दोहोरिँदैन। भुटान अहिले बलियो बन्दै गएको छ।भुटानलाई हामी हराउन सक्छौं। तथापि सचेत भएर मैदानमा उत्रन जरुरी छ।’

कप्तान विमलले विगतको नतिजाले टोलीलाई दबाब बढाइरहेको बताए। उनले भने, ‘भारतसँग हामी चुकिरहेका छौं। उपाधि नजिक पुगेर पनि भारतले हामीलाई निराश बनाएको छ।यसपटक हामी भारतलाई हराएर विगतको बदला लिन्छौं।’