स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा सुरु भएको आन्दोलन नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीले सोमबार दिनभर प्रदर्शन गरेका छन्।
कर्फ्युको अवज्ञा गरेर प्रदर्शनकारी सडकमा उत्रिएपछि प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीले जिल्लाका तीनवटा सरकारी कार्यालयमा आगो लगाइदिएका छन्। प्रशासनले आइतबार बेलुकीदेखि जिल्लामा अनिश्चितकालीन कफ्र्यु लगाएको छ।
प्रदर्शनकारीहरूले सोमबार कफ्र्यु तोडेर जिल्ला कृषि अनुसन्धान केन्द्र, वागवानी केन्द्र र हुलाक कार्यालयमा आगो लगाएका छन्। उनीहरूले सडकमा दिनभर टायर बालेर प्रदर्शनसमेत गरेका छन्।
प्रहरीसँगको झडपमा क्रममा लाठी लागेर पाँच प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आइतबार प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउँदा पाँच प्रदर्शनकारी गम्भीर घाइते भएका थिए।
उनीहरूको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ। आन्दोलन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनलाई समेत नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । जिल्लाका राजनीतिक दलहरूले समेत आन्दोलनको नेतृत्व गर्न सकेका छैनन्।
अहिले युवारूरुको नेतृत्वमा प्रदर्शन तथा सरकारी कार्यालयमा आगजनी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रदर्शनकारीहरूले लुकीछिपी कार्यालयमा आगजनी गर्ने गरेका छन्।
जिल्लाको अवस्था सामान्य नहुँदासम्म कर्फ्यु जारी रहने जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले बताए। उनले भने, ‘दलका नेताहरूसमेत आन्दोलनमा देखिन छोडेका छन्। प्रदर्शन अराजक बन्दै गएको छ। कुनै पनि बेला हिंसा भड्किन सक्छ। त्यसकारण अवस्था सामान्य नहुँदासम्म कफ्र्यु जारी रहन्छ।’

उनले सोमबार बिहान एक घन्टाका लागि कर्फ्यु हटाएको र अवस्था जटिल बन्ने संकेत पाएपछि पुनः लगाइएको जानकारी दिए। यसअघि प्रदर्शनकारीले आइतबार जिल्लाका सबै सरकारी कार्यालयका बोर्ड हटाएका थिए। जाजरकोट, दैलेख र कालीकोटमा पनि नागरिकहरुले अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन जारी राखेका छन्।