गाले। स्पिनर रंगना हेराथले जीवनकै उत्कृष्ट बलिङ गरेपछि शनिबार श्रीलंकाले पहिलो टेस्टमा भारतमाथि ६३ रनको सनसनी जित दर्ता गरेको छ । गाले टेस्टको सफलतापछि श्रीलंकाले सिरिजमा १–० को अग्रता लिएको छ ।
श्रीलंकाले भारतलाई १७६ रनको लक्ष्य दिएको थियो । भारतसँग दुई दिनको समय थियो । चौथो दिनमा भारतले एक विकेटको नोक्सानीमा २३ रनबाट इनिङ थाल्यो । तर, स्पिनर रंगनाले ४८ रन खर्चेर सात विकेट लिएपछि भारत ४९.५ ओभरमा ११२ रनमै समेटियो ।
भारतको दोस्रो इनिङमा शिखर धवनले ८३ बल सामना गरी २८ रनको योगदान दिए । अजिन्का रहानेले सर्वाधिक ३६ रन बनाए । सात भारतीय ब्याट्सम्यानले दोहोरो अंक नै बनाएनन् । भारतले ६० रन जोड्दा पाँच विकेट गुमाएको थियो ।