नेपालगन्ज, साउन २८ । आमहड्तालका कारण बिहीबार पनि नेपालगन्जको जनजीवन प्रभावित भएको छ । थरुहट संयुक्त संघर्ष समितिको आम हड्ताललाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र अन्तर पार्टी मधेशी सञ्जालले समर्थन गरेका छन् । आमहड्तालका कारण बिहीबार पनि बिहान देखि नै यातायात, बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था ठप्प भएका छन् । नेपालगन्ज नगरक्षेत्रमा साना सवारी साधनहरु साईकल, रिक्सा, टांगा र मोटरसाईकल मात्र फाट्फुट्ट रुपमा चलेको पाइएको छ । ठुला सवारी साधन पुरै बन्द भएको पाइएको छ ।
बन्दलाई मध्यनजर गर्दै सुरक्षाकर्मी धेरै मात्रामा परिचालन गरिएको छ । यस्तै कोहलपुरमा थारु समुदायहरु भेला भएर बिहानै देखि सवारी साधन चलाउन र पसल खोल्न दिएका छैनन् । संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले कोहलपुरको बन्दलाई नेतृत्व गरिरहेका छन् । बन्द सफल पार्न शान्तिपुर्ण रुपमा आफुहरु परिचालित भएको उनले बताए । पुर्वपश्चिम राजमार्ग क्षेत्रमा कुनैपनि सवारी साधन चल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगन्जमा मधेशी मोर्चा र कोहलपुर क्षेत्रमा थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको जिम्मेवारी लिएको बताइएको छ । अवध मधेश थरुहट प्रदेश स्थापना हुनुपर्ने, मधेशी, मुस्लिम, थारु आदीवासी, जनजाती, अल्पसंख्यक तथा सिमान्तकृतको आयोगलाई संविधानमा राख्नुपर्ने, नागरिकताको विभेदकारी नीति खारेज गर्नुपर्ने जस्ता माग उनीहरुले राख्दै आएका छन् ।