धरान । ६ प्रदेशको विरोधमा संघीय लिम्बुवान पार्टी नेपालले अरुण सप्तकोशी पूर्वको ९ जिल्ला बन्द गराएका छन्। बन्दले पूर्वको जनजीवन प्रभावित बनेको छ।
बिहानैदेखि प्रमुख सहरहरु धरान, इटहरी, पथरी, दमक, विर्तामोडलगायतका क्षेत्रमा बन्दको प्रभाव राम्रैसँग परेको छ। धरानमा बिहानैदेखि कार्यकर्ताहरु तैनाथ छन्। विशेष गरेर भानुचोक परिसरमा मोटरसाइकलसमेतलाई रोक लगाएको छ।
यातायातका साधन ठप्प छन्। लामो तथा छोटो दुरीको यातायातहरु अवरुद्ध हुँदा सयौं यात्रुहरु मारमा परेका छन्। अचानकको बन्द आह्वानले गन्तब्यमा हिडेका यात्रुहरु बन्द खुल्ने पखाईमा रहेका छन्।
बिहानै स्कुल, कलेज हिँडेका विद्यार्थीहरुसमेत कलेजबाट फर्किन बाध्य छन्। लिम्बूवानका कार्यकर्ताहरु ४०–५० जनाको जत्था लिएर बन्द गराउँदै हिडेका छन्। भित्री बाटोमा खुलेका पसलहरुलाईसमेत बन्द गराउने कार्यक्रम पार्टीको रहेको पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतिले बताए।
उनले भानुचौक परिसरमा मोटरसाइकललाईसमेत रोक लगाएको बताए। ६ प्रदेशप्रति आफूहरु असन्तुष्टिसँगै अरुण सप्तकोशी पूर्वको ९ जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने बताए। तर, खाकामा अन्य जिल्लाहरुलाईसमेत जोडेर उनीहरुको अस्तित्व समाप्त पार्न लागेको पार्टीका सर्वोच्च नेता कमल छाराहाङले बताए।
उनले लिम्बुवानले अरुको अस्तित्व र पहिचानलाई मेट्ने गरी अघि नबढ्ने बताउँदै सांकेतिक आन्दोलनको रुपमा बुझिदिन आग्रह गरे।