काठमाडौ। चार शीर्ष नेताहरुले सहमति गरेको ६ प्रदेशको अवधारण सार्वजनिक भएलगत्तै देशको पश्चिमी भागमा आन्दोलन सुरु भएको हो । सोमबार देखि सुरु भएको प्रदर्शनका कारण सुर्खेतमा २ जनाले ज्यान गुमाइसकेका छन् । आज म‌ंगलबार पनि विभिन्न ठाउँमा प्रदर्शन सुरु भइसकेको छ ।

थरुहट राज्य माग

मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबार देखि आव्हान गरेको बर्दिया बन्दले बिहान देखि यातायात सेवा प्रभावित भएको छ ।

कञ्चनपुर देखि चितवन सम्मको थरुहट भुमी स्वायत्त प्रदेश, पर्सा देखि धनुषा सम्म सिम्रोनगढ र सिराहा देखि झापा सम्म पुर्वी थरुहट कोचिला प्रदेशको माग गर्दे अनिश्चिकालिन बन्दको आव्हान गरिएको हो । बन्दले शिक्षण संस्थान, व्यापारिक प्रतिष्ठान बन्द भएको प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्ग र नेपालगन्ज गुलरिया, राजापुर सडकमा फाटफुट सवारी साधन चलेकाछन् । बिहान देखि पानी परेकोले बन्दकर्ता भने सडकमा प्रदर्शनमा उत्रेका छैनन् ।