२५ साउन, काठमाडौं । विदेशको स्थायी अनुमतिपत्र (पिआर), डाइभर्सिटी भिसा (डिभी) लिनेलाई बर्खास्तसम्म गर्ने कानुन कार्यान्वयनमा आएपछि कर्मचारीले राजीनामा दिन थालेका छन् । सचिव, सहसचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिएका छन् ।

कर्मचारीले घरायसी तथा स्वास्थ्य लगायतको कारण देखाउँदै राजीनामा दिएका हुन् । तर, सामान्य प्रशासन मन्त्रालयले पिआर तथा डिभी लिएका कर्मचारीले धमाधम राजीनामा दिन थालेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार राजीनामा दिनेहरुको सूची बढ्दै गएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले केही दिनअघि राजीनामा दिएका छन् ।

भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएर अमेरिका गएको स्रोतले बताएको छ । उनी २० माघ ०७१ मा सचिवमा बढुवा भएका थिए । उनको पदावधि अझै साढे चार वर्ष बाँकी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भण्डारीसँग अमेरिकाको पिआर रहेकाले राजीनामा दिएको जनाएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि भण्डारीले राजीनामा दिएको सुनेको, तर औपचारिक जानकारी नआइसकेको बताए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गर्नेछ । सूचना आयोगका सचिव लक्ष्मण मैनालीले भने आफ्नो श्रीमतीसँग अमेरिकाको पिआर रहे पनि आफूसँग नरहेको जानकारी गराएका छन् । उनीमाथि थप छानबिन हुनसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको  छ  ।

अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे।
उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको दिएका थिएनन्। विधेयक समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार भएको छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व गर्नैपर्ने थियो र उनले आफ्नो उपस्थिति ‘कन्फर्म’ पनि गरेका थिए।

आइतबारैको राजस्व समीक्षा बैठकमा पनि उनले ‘हुन्छु’ भनेका थिए। निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि उनको सोधीखोजी सुरु भयो। आइप्याड, ल्यापटपलगायतका जिन्सी सामान स्टोरमा बुझाएको थाहा पाएपछि मन्त्रालयमा उनी अमेरिका हिँडेको लख काटियो।

मुख्य सचिव सोमलाल सुवेदीले उनले राजीनामा गरेको पुष्टि गरिदिएपछि सहकर्मीको अनुमान सही ठहरियो।राजस्व समूहबाट सरकारी सेवा प्रवेश गरेका भण्डारीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र भन्सार विभागको महानिर्देशकको जिम्मेवारी समालिसकेका थिए।