श्रम कार्यालय ताहाचलबाट फ्रि भिसा र टिकट लागू भएको पहिलो महिनामा ३८ हजार ६  सय ७५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

५ सय ९० म्यानपावर कम्पनीले २० हजार ७ सय ८७ जनाको अन्तिम श्रम स्वीकृति लिएका श्रमग्राम ताहाचलका कार्यालय प्रमुख मधु विलास पण्डितले बताए।

जसमा १९ हजार ७ सय ९८ जना पुरूष कामदार र ९ सय ८९ महिला कामदार रहेको श्रम ग्राम ताहाचलले जनाएको छ।

त्यस्तै महिना दिनकै समयमा व्यक्तिगत रूपमा १७ हजार ८ सय ८८ जनाले पनि अन्तिम स्वीकृती लिएका छन्। साथै व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिनेमा १६ हजार ७ सय ३२ पुरुष कामदार र ११ सय ५६ महिला रहेको श्रमग्राम ताहाचलले जनाकारी दिएको छ।

असार २१ गतेबाट सरकारले लागू भएको फ्रि भिसा र टिकट अनुसार नै श्रमग्राम ताहाचलमा एक महिनाको समयमा ६ सय ४८ वटा पूर्व स्वीकृतिमा लागि म्यानपावर कम्पनीहरुले फाईल पेश गरिसकेको पण्डितको भनाई छ। यसरी पेश गरिएको फाईलमा सरदर ३३ हजार १ सय २० जना कामदार माग भएको उनले बताए। यो सङ्ख्या फ्रि भिसा र टिकट निर्णय लागु हुनुभन्दा पहिलेको भन्दा २० देखि २५ प्रतिशतसम्मले कमि रहेको श्रमग्राम ताहाचलले जानकारी दिएको छ।

महिना दिनको समयमा लिइएको अन्तिम श्रम स्वीकृतिमा पनि सरदर २० देखि ३० प्रतिशत फ्रि भिसा, फ्रि टिकट र न्युनतम् लागतको माग रहेको पण्डितको तर्क छ।

धेरैजसो असार २१ गते अगाडि दर्ता गरेका फाईलको काम भईरहेको बताए। खाडी मुलुकको हकमा भने म्यानपावर कम्पनीले पेश गरे बमोजिम कामदार माग गर्ने कम्पनीले काठमाडौं शाखाको इमेलमा माग डोफे गरिसकेपछि प्रक्रिया पुगेको फाइलहरुको पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा कुनै ढिला सुस्ती नगरी फाईल स्वीकृति गरि दिएको पण्डितको दाबी छ।

मलेसियाको हकमा भने फाईल प्रमाणित गर्ने नै समस्या समेत रहेको उनको तर्क छ। न त कामदार माग गर्ने कम्पनीले इमेल गरिदिन्छ न त दूतावासले नै प्रमाणित कागज पत्र दिन्छ। त्यसले गर्दा मलेसियाको काम गर्न भने प्रेसर रहेको पण्डितको तर्क छ।

अन्य ठाउँमा भन्दा काठमाडौं शाखामा  काम गर्ने कर्मचारीलाई पनि केहि दुःख रहेको उनको तर्क छ। यस शाखामा काम गर्ने कर्मचारीले संस्थागत रूपमा कामदार पठाउने  १ सय १० मूलुककै भिसा सम्बन्धि जानकारी भएको र भिसा चेक गर्न सक्ने हुनुपर्ने भएकाले  यहाँ काम गर्न त्यति सहज नभएको पण्डितले दाबी गरे।

असार २१ गते भन्दा पहिले पेश भएका पूर्ववत फाईलमा भने नेपाल सरकारले नै तोकेको शूल्क लिन पाउने गरि अन्तिम स्वीकृत र पूर्व स्वीकृत दिइएको श्रमग्राम ताहाचलले जानकारी गराएको छ।

२१ गते पछिको मागमा भने म्यानपावर कम्पनीलाई १० हजार रुपैयाँ तिर्नु पर्ने र साथै व्यक्ति आफैले भने विमा, कल्याणकारी, ल्याप, ओरेन्टेसन र मेडिकल शूल्क भने आफै तिर्नुपर्ने पण्डितको तर्क छ। म्यानपावर कम्पनीले यो भन्दा बढी पैसा लिए श्रमग्राम ताहाचलमा खबर गर्न समेत कामदार लागि पण्डितले आग्रह गरेका छन्।