काठमाडौं : शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राजेन्द्र क्षेत्रीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली सेनाका बलाधिकृत रथि क्षेत्रीलाई कामु प्रधान सेनापतिमा नियुक्तिका लागि राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि २०७१ फागुन १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलार्इ रथीमा बढुवा गरेपछि उनी नेपाली सेनाको प्रधान सेनापति हुने पक्का भएको थियो ।

बहालवाला प्रधान सेनापति गौरव समशेर राणा आफ्नो पदावधि पुरा गर्दै साउन २६ बाट एक महिने घर विदामा बस्दैछन्।राणाले भदौ २६ बाट अवकाश पाउँदैछन्।

क्षेत्री परिवारका तीन भाइमध्ये उनका दाजु रमिन्द्र क्षेत्री नेपाली सेनामै छन् । अहिले उनी उपरथी तहमा छन्।भाइ रतिन्द्र क्षेत्रीले महासेनानीबाट यसअघि नै अवकाश पाइसकेका छन् ।

अमेरिकी सेनाको कमाण्ड एन्ड जनरल स्टाफ अफिसर्स कोर्ष पुरा गरेका क्षेत्री भदौ २६ बाट प्रधानसेनापतिमा पद बहाली गर्नेछन् ।