काठमाडौं । वैदेशिक रोजगार विभागले विभिन्न १२ विवरण उल्लेखित कागजात सहित नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउनका लागि सूचीकृत हुन वैदेशिक रोजगार व्यवसायीलाई आह्वान गरेको छ ।
जिट्को अन्तरगत दर्ता रहेका ६९ म्यानपावर कम्पनीको दर्ता अवधि गत जुलाई ३१ मा समाप्त भएपछि विभागले १५ दिनको समय दिएर सार्वजनिक सूचना जारी गर्दै नयाँ सूचीकरणका लागि आह्वान गरेको हो । साउन २९ गते सम्ममात्र इच्छूक म्यानपावर कम्पनीले विभागमा निवेदन पेश गर्न पाउने छन् ।
विभागका अनुसार जिट्कोमा दर्ता हुन म्यानपावर कम्पनी तथा कम्पनीको संचालकको विरुद्धमा बैदेशिक रोजगार विभागमा विगत ५ वर्षमा कुनै उजुरी नपरेको हुनपर्ने तथा परेको भए त्यस्ता उजुरीको फर्छ्योट भए नभएको विवरण पेश गर्नु पर्नेछ ।
सूचीकरणको निवेदन साथ कम्पनी रजिष्ट्ररको कार्यालयको कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, विभागबाट प्रदान गरिएको इजाजतपत्रको नवीकरण भएको प्रमाणित प्रतिलिपि, पान दर्ता र बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, कर चुक्ता रकम खुल्ने प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पेश गर्न पनि सूचनामा भनिएको छ ।
त्यसैगरी विभागले केन्द्रीय कार्यालय, शाखा तथा एजेण्टहरुको नाम, ठेगाना तथा ती कार्यालयहरुको भौतिक अवस्था, विगत ३ वर्षमा वैदेशिक रोजगारमा पठाएका कामदारहरुको जनजाति, पिछडिएको क्षेत्र, दूर्गम क्षेत्र, महिला तथा दैवी प्रकोप पीडित समेतको छुट्टाछुट्टै विवरण साथै एक वर्ष नपुग्दै फिर्ता भएका कामदारहरुको संख्या, वैदेशिक रोजगार सम्बन्धी कसुरमा संस्था वा संचालकले विगत १० वर्ष भित्रमा कुनै सजाय पाएको वा नपाएको स्थिती पेश गर्न भनेको छ ।
नेपाल सरकारले तोके बमोजिमको संख्यामा आरक्षण प्रदान गरी बैदेशिक रोजगारीमा पठाएको भए सो विवरण, संस्थाले लिने गरेको सेवा शुल्क तथा प्रवद्र्धन खर्चको विवरण आरक्षण कोटामा लिने गरेको शुल्क समेत खुल्ने विवरण हुन पर्ने छ । त्यसैगरी वैदेशिक रोजगारमा पु¥याएको योगदान स्वरुप स्वदेश वा विदेशबाट कुनै कदरपत्र वा पुरस्कार पाएको भए सो को विवरण सहित वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा फिर्ता नहुने दरखास्त दस्तुर वापत बुझाएको २० हजार रुपैयाँको सक्कल भौचर पेश गर्न भनेको छ ।
विभागले यति धेरै प्रावधान सहित सूचीकृत हुन आह्वान गरेपनि जापानमा प्रशिक्षार्थी कामदारका रुपमा जानेको जानेको संख्या ज्यादै न्यून छ ।
जिट्को अन्तरगत अहिलेसम्म ४ सय ४३ जना कामदार जापान गएका छन् । जवकी कामदारको माग भने ५० हजारको छ । अहिलेसम्म जापानमा माछापालन,कृषि निर्माणका क्षेत्रमा दुई वर्षको अनुभव भएका प्रशिक्षार्थी गएका छन् ।