काठमाडौं । केहीदिन अघिसम्म बेलुकी मात्र पानी परेपनि हिजो दिउँसोदेखि धेरै ठाउँमा अविरल वर्षा भैरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडीमा बनेको कोमन भन्ने समुद्री आँधीको प्रभावका कारण ठूलो पानी परेको हो ।

आँधीकै प्रभावका कारण बिहीबार दिउँसोदेखि पूर्वबाट पानी पर्न सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार रातीदेखि पानी पार्ने बादल पश्चिममा सरेकाले अरु ठाउँको तुलनामा पश्चिमी क्षेत्रमा बढी पानी पर्नेछ ।

विशेषगरी मध्य पश्चिमका पहाडी क्षेत्रमा शुक्रबार ठूलो वर्षाको संभावना छ । अरु ठाउँमा निरन्तर पानी पर्ने अनुमान गरिएको छ । कोमन आँधीकै प्रभावका कारण रातभरी देशका धेरै ठाउँमा पानी परेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

अहिले पानी परिरहेको ठाउँमा एकैछिन पानी पर्न रोकिएपनि दिउँसोदेखि फेरि पर्ने उहाँको भनाई छ । शुक्रबार र शनिबार मौसम बदली भैरहेने र भोलि बेलुकादेखि मात्र मौसममा सुधार आउने मौसमविद्ले अनुमान गरेका छन् ।