१० साउन, काठमाडौं ।  नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। टाउको दुख्ने र रक्तचाप बढेपछि नेपाल सोमबार दिउँसो वीर अस्पतालमा भर्ना भएका हुन्।

वीर अस्पताल ट्रमा सेन्टर आकस्मिक कक्ष अन्तर्गत किड्नी ट्रान्सप्लान्ट वेडमा नेपाललाई राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

नेपालले सिटिस्क्यान, एक्सरे र रगत परीक्षण गराएका छन्। ‘टाउको दुख्ने र रक्तचाप बढेपछि नेपाललाई अस्पताल भर्ना गरिएकव अस्पतालका निर्देशक डा.स्वयम प्रकास पण्डितले भने, ‘उहाँको अवस्था सामान्य छ। डराउनु पर्दैन।’

डा.भूपेन्द्र बस्नेत सहितको चिकित्सक टोलीले नेपालको उपचार गरिरहेको छ।

उनले परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले कम्तिमा एक दिन अस्पतालमै आराम गर्ने भएका छन्।संसद बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संविधानसभा भवन पुगेका नेपाललाई रिंगटा लागेपछि एम्बुलेन्समा वीर अस्पताल लगिएको हो।