९ साउन, काठमाडौं । संसद्मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेको पछिल्ला २४ वर्षमा देशले २१ वटा सरकार पायो । एउटा प्रधानमन्त्री छान्न संसद्मा १७ पटकसम्म चुनाव पनि भयो । र, पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन सकेनन् ।

दुई सय ४० वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न ०४६ मा जुन उमंगका साथ जनता सडकमा उत्रिएका थिए र नयाँ व्यवस्थाप्रति जति आशा गरेका थिए, प्रजातन्त्र प्राप्तिपछिका वर्षहरूमा त्यत्ति नै निराश बने । दलहरू सत्ताको फोहोरी खेलमा लिप्त भए ।

यस अवधिमा दलहरू सरकार बनाउने र ढाल्ने खेलमा यति निर्लज्ज र पार्टी अनुशासनविरुद्ध गएर लागे कि आफ्नै नेतृत्वको सरकारका विपक्षमा मत हाल्ने, पैसामा सांसद खरिद–बिक्री गर्ने, प्रधानमन्त्री छान्ने वेला विदेश घुम्नेसम्मका काम गरे । संसदमा आठ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)का लोकेन्द्रबहादुर चन्द र ११ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाले पालैपालो ८८ सिट भएको एमाले र ८३ सिटको कांग्रेसको बुई चढेर प्रधानमन्त्री बन्दै देश चलाए ।

जनताले विश्वास गरेर राम्रो मतका साथ सिंहदरबार पठाएका कांग्रेस र एमाले सत्ता लुछाचुडीकै खेलमा लागेर विभाजित बने । राप्रपा र नेपाल सद्भावना पार्टीजस्ता साना दल पनि टुक्रिए ।

०५२ को पुसमा प्रधानमन्त्री हुँदा कांग्रेस नेता देउवाले ६ पटक पुनर्गठन गर्दै मन्त्रिपरिषद् ४८ सदस्यीय बनाए । त्यसपछिका सरकारहरूले पनि त्यसलाई निरन्तरता दिन थाले । ०५४ मा सूर्यबहादुर थापाले ४७ सदस्यीय मन्त्रिपरिषद् बनाए । गिरिजाप्रसादले ३७ र कृष्णप्रसाद भट्टराईले ३२ सदस्यीय बनाए । गणतन्त्र आएपछिको सरकारको नेतृत्व गरेका माधव नेपाल र बाबुराम भट्टराईले समेत जम्बो मन्त्रिपरिषद् गठन गरे ।

स्पष्ट बहुमतसहित ०४८ मा सरकारमा पुगेको कांग्रेसको सरकार आफ्नै सांसदका कारण ढल्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन सकेन । कांग्रेसका एक सय १० सांसद थिए, तर सरकारको नीति तथा कार्यक्रमको पक्षमा ७४ मत मात्रै आयो । र, कोइरालाले राजीनामा दिँदै संसद् विघटन गरेर आमनिर्वाचन गर्न राजासमक्ष सिफारिस गरे ।

शेरबहादुरपछि एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । त्यसपछि कांग्रेसकै समर्थनमा ११ सिट भएका सूर्यबहादुर थापा प्रधानमन्त्री बनेर देश चलाए । सत्ता राजनीतिमा चतुर खेलाडी मानिने कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ६ महिनामै थापालाई पछारेर ३० चैत ०५४ मा आफैँ प्रधानमन्त्री बने ।

०५६ को आमनिर्वाचनमा पनि कांग्रेसले एक सय ११ सिटसहित स्पष्ट बहुमत पायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । तर, १० महिना नबित्दै उनकै पार्टीका गिरिजाप्रसादले राजीनामा दिन बाध्य बनाए । ७ चैत ०५६ मा कोइराला नयाँ प्रधानमन्त्री बने । तत्कालीन विद्रोही माओवादीविरुद्ध होलेरीमा सेना परिचालन गर्नेबारे भएको विवादपछि उनले ४ साउन ०५८ मा राजीनामा दिए । र, कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

सशस्त्र युद्धरत माओवादीविरुद्ध देउवा सरकार आक्रामक बन्यो । संकटकाल लगाएर सेना परिचालन पनि गर्‍यो । संकटकालको अवधि बढाउने विषयमा कांग्रेसले नै साथ नदिएपछि उनले पार्टी मात्रै विभाजन गरेनन्, संसद् विघटन गरेर चुनावसमेत घोषणा गरे । तर, चुनाव गर्न सकेनन् ।

संविधानसभाको दोस्रो चुनावपछि कांग्रेस ठूलो दल बन्यो । र, २७ माघ ०७० मा सुशील कोइराला नयाँ प्रधानमन्त्री बने । उनले अहिलेसम्म सरकार चलाइरहेका छन् । तर, कतिवेला परिवर्तन हुन्छ भन्न सकिन्न । किनभने दोस्रो र तेस्रो ठूलो दल एमाले र एमाओवादी त्यसको तयारीमा लागेका छन् ।