काठमाडौँ : जबर्जस्ती बन्द र तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका ८६ जना कार्यकर्तालाई प्रहरीले काठमाडौं उपत्यकार र बागलुङबाट पक्राउ गरेको छ । सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट आज पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बोतल र जर्किनमा पेट्रोल बोकेका ती बन्दकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले ई जानकारी दिए । नियन्त्रणमा लिइएका बन्दकर्तालाई आवश्यक छानबिनपछि रिहा गरिने प्रहरीले बताएको छ । माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाक र पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए । बन्दकर्ताले शुक्रबार बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड बाहेक सामान्य अवस्था रहेको प्रहरीले बताएको छ । बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् ।
नेपाल बन्द सफल पार्न हिँडेका बागलुङका ११ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । चीन र भारतबीच भएको लिपु सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै माओवादीले आज नेपाल बन्दको आह्वान गरेको थियो । बागलुङ बजारको हल्लन चोकबाट विप्लव नेतृत्वको नेकपा माओवादी बागलुङका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । पक्राउ पर्नेमा नेकपा माओवादी बागलुङका सेक्रेटरी विकीरण, अनन्त केसी, नवीन कुँवर, बाबुलाल शाक्य, दिनबहादुर कुमाल, एलपी बुढा, बाबुराम आचार्य, अविनाश विक, राम मगर र दीपेन्द्र रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । माओवादी कार्यकर्ताले भने शान्तिपूर्ण बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको आरोप लगाएका छन् । माओवादीले आह्वान गरेको बन्दका कारण यहाँ लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन् । यहाँ शैक्षिक संस्था, बजार बन्द रहेका छन् । रासस