६ साउन, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले संविधानको मस्यौदामा त्रुटि रहेकोले संशोधन गर्नु पर्ने बताउनुभएको छ । संविधानले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै उहाँले व्यवहारिक ढङ्गले मस्यौदा परिमार्जन गर्न दलहरुलाई आग्रह गर्नुभयो । वुधवार हनुमान ढोका परिसरमा रहेको मख्खन महादेव मन्दिरमा आयोजित रुद्री तथा क्षमा पूजामा सहभागी हुदै पुर्वराजा ज्ञानेन्द्रले मस्यौदाले सवै नागरिकलाई समेटन नसकेको दावी गर्नुभयो ।

संविधानको मस्यौदामा नागरिकको चाहना र भावनालाई कदर नगरिएको भन्दै व्यवहारिक ढङ्गले मस्यौदामा संशोधन गर्न दलहरुलाई पूर्व राजाको आग्रह छ ।
विनाशकारी भुकम्पमा परी निधन भएकाहरुको मृतआत्माको चीर शान्ति र क्षमा याचनासहितको पूजामा पूर्व राजा ज्ञानेन्द्र रुद्र पुजा तथा होमादीमा सहभागी भएको पुजारी राजन महर्जनले जानकारी दिनुभयो । सानो पशुपतिको रुपमा चिनिएको मख्खन तथा महेन्द्रेश्वर महादेवमा पुजाआजा गर्ने शाहवंशका परम्परा अनुसार शाह सहभागी भएको पुजारी महर्जनको भनाई छ ।