६ साउन,मुस्ताङ । हिमाली जिल्ला मुस्ताङबाट कर्णालीको डोल्पा जिल्ला जोड्ने सडक विस्तार कार्यलाई तीव्र पारिएको छ । पाँच वर्षअघि जिल्ला विकास समिति मुस्ताङले क्रमागतरुपमा बजेट विनियोजन गरी निर्माण सुरु गरेको सडकको जिम्मा अहिले सडक डिभिजन कार्यालय बाग्लुङले लिएको छ ।
कागबेनीको सबैभन्दा दुर्गम गाउँ साङ्टा हुँदै डोल्पा पु¥याउने महत्वकांक्षी योजना रहेको छ । साङ्टादेखि माथि घनाजङ्गल भएकाले पहिलो चरणमा कागबेनीदेखि २६ किलोमिटरको दूरीमा पर्ने साङ्टासम्म ट्रयाक खोल्ने काम भइरहेको जिल्ला विकास समिति मुस्ताङका इञ्जिनियर सकलदेव शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, जिविसले अहिलेसम्म तीन किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ भने बाँकी काम अब सडक डिभिजनले गर्नेछ ।
“त्यसका लागि रु पाँच करोडको ठेक्का आह्वान भइसकेको छ, छिट्टै काम अघि बढ्छ, इञ्जिनियर शर्माले भन्नुभयो, “साङ्टासम्म सडक पुगेपछि अन्य क्षेत्रमा के गर्ने भन्ने अध्ययन हुन्छ ।” जिविसले चार वर्षको अवधिमा साङ्टासम्म नै सडकको ट्रयाक खोल्न लक्ष्य लिइएपनि बजेट अभाव र स्थानीय उपभोक्ता समितिबीच सहकार्य हुन नसक्दा थोरै मात्रै काम भएको इञ्जिनियर शर्माले जानकारी दिनुभयो । रासस