३ साउन, काठमाडौं । भूकम्प प्रभावित जिल्लामा निर्माणाधीन ठूला विकास आयोजनाको काम ठप्प भएको छ । काम सुचारु नहुँदा आयोजनाको लागत र निर्माण समय दुवै बढ्ने भएको छ । १२ वैशाखको भूकम्प र त्यसपछिको निरन्तर परकम्प र बर्खाले निर्माणाधीन जलविद्युत् आयोजनाको काम रोकिएका हुन् । सबै आयोजनाको निर्माण तत्काल सुरु हुन सक्ने अवस्था छैन ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवाको १११ मेगावाटको रसुवागढी, नुवाकोट र रसुवामा पर्ने ६० मेगावाटको त्रिशूली थ्री ए, सिन्धुपाल्चोकको १०२ मेगावाट क्षमताको रसुवागडी आयोजनामा काम सुचारु भएको छैन । कामदार काम रोकेर स्वदेश फर्किएका छन् । यी सबै आयोजनाको मुख्य संरचना बाँध, विद्युत्गृह, सुरुङलगायतका निर्माणको ठेकेदार चिनियाँ कम्पनी रहेको न छ ।

ठेकेदार कम्पनीले भूकम्पबाट काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै सम्बन्धित आयोजनामा सूचना दिएर कामदारलाई स्वदेश फर्काएका थिए । भूकम्प भोगेका कामदार आएर पुन: काम थाल्ने सम्भावना कम छ ।

रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक माधव कोइरालाले भूकम्पअघि काम गरिरहेका कामदारले पुन: आएर काम गर्न नसक्ने बताएको जानकारी दिए । ‘भूकम्पलगत्तै उद्धार गर्न नसक्दा तीन दिनसम्म कामदार आयोजनास्थलमै थुनिएकाले पनि उनीहरू आउन नमानेको ठेकेदार कम्पनीले बताइरहेका छन्,’ कोइरालाले भने, ‘पुन: भूकम्प गएमा कसले उद्धार गर्छ भन्दै उनीहरू आउन मानेका छैनन् ।’

भूकम्पले रसुवागढी आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको मृत्यु भएको थियो । आयोजनामा भूकम्प आएको दिन साढे दुई सयभन्दा बढी चिनियाँ मजदुरले काम गरेका थिए । सो आयोजना चिनियाँ सीमानजिकै पर्छ । नेपालका तर्फबाट तत्काल उद्धार हुन नसकेपछि चीनको टोलीले उनीहरूको उद्धार गरेको थियो । सो आयोजनामा काम गर्ने अधिकांश कामदारको पासपोर्ट हराएकाले झनै समस्या भएको छ । ठेकेदार कम्पनी सिडब्लुईका निर्माण उपकरणमा पनि क्षति पुगेको छ ।