२ साउन, काठमाडौं । एक वर्षको अवधिमा काठमाडौं जिल्लाभित्र २२ जनाको हत्या भएको छ । ९१ जनामाथि बलात्कार भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नौजनाको अपहरण भएको छ ।

परिसरका अनुसार आर्थिक वर्ष ०७१/७२ मा काठमाडौंमा चार हजार ६ सयवटा अपराधका घटना भएका छन् । ती घटनामा पाँच हजार आठ सय ८८ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षमा पाँच हजार ६ सय दुईवटा मुद्दा दर्ता भएको थियो ।

आव ०७१/७२ मा सबैभन्दा धेरै पुसमा चार सय ७७ वटा मुद्दा काठमाडौं प्रहरीले दर्ता गरेको छ । वर्षभरि अनुसन्धान गरिएका मुद्दामध्ये तीन सय ८६ जना फरार रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले बताए ।

कर्तव्य ज्यान, ठगी, मानव बेचबिखन, हातहतियार, लागुऔषधजस्ता मुद्दा घटेका छन् । ज्यान मार्ने उद्योग, बलात्कार, बैंकिङ कसुरजस्ता मुद्दाको संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।